समाचार

महालेखापरीक्षकको कार्यालयका लागि सहयोग कार्यक्रमको उदघाटन

१ असार, काठमाडौं । महालेखापरीक्षकको कार्यालयको सहयोगका लागि युएसएआइडीको सहयोगमा जुन २०२३ देखि जुलाई, २०२६ सम्म सञ्चालन हुने ‘युएसएआइडी अडिटर जनरल सर्पोट एक्टिभिटी इन नेपाल’ उद्घाटन गरिएको छ ।

कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर र युएसएआइडीका एजेन्सी काउन्सिलर क्लिन्टन ह्वाइटले आज यहाँ आयोजित एक समारोहमा उक्त कार्यक्रमको संयुक्तरूपमा उद्घाटन गरे ।

उक्त सहयोग कार्यक्रमको लागत १० लाख अमेरिकी डलर रहेको छ । सो कार्यक्रमको उद्देश्य महालेखापरीक्षकको कार्यालयको क्षमता अभिवृद्धि गर्नु, वित्तीय तथा कार्यमूलक लेखापरीक्षणको गुणस्तर वृद्धि गर्नु, महालेखापरीक्षकको कार्यालयको सञ्चार रणनीति तय गर्नु, महालेखापरीक्षकको कार्यालयका कर्मचारीहरूको ज्ञान, सीप, क्षमता अभिवृद्धि गरी समग्रमा जनशक्ति विकास तथा लेखापरीक्षणको गुणस्तर सुधार गर्नु रहेको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा कार्यवाहक महालेखापरीक्षक कुँवरले उक्त सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै सो सहयोगले महालेखा परीक्षकको जनशक्ति, विकास, संस्थागत क्षमता अभिवृद्धि र लेखापरीक्षण कार्यको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका रहने विचार व्यक्त गरे ।

यस्तै युएसआइडीका एजेन्सी काउन्सिलर ह्वाइटले यस सहयोग कार्यक्रमले महालेखा परीक्षकको कार्यालयको क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित हासिल हुने तथा सो सहायताअन्तर्गत सञ्चालन हुने क्रियाकलापबाट पारदर्शिता, उत्तरदायित्व र सदाचारको माध्यमबाट वित्तीय सुशासन अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा उपमहालेखापरीक्षक महेश्वर काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने युएसआइडीका मिसन डाइरेक्टर सेपिडेह किभान्सदले सहयोग कार्यक्रमको उद्देश्य, क्षेत्र र महत्त्वमाथि प्रकाश पारेका थिए ।