समाचार

समाजवादी मोर्चा घोषणा हुँदै, नेतृत्वमा आलोपालो

४ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर बनेको समाजवादी मोर्चा आज घोषणा हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार घोषणा गर्ने सहमति भएको थियो ।

सोमबार दिउँसो ३ बजे काठमाडौंको राष्ट्रियसभा गृहमा समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता सहितको १५ बुँदे प्रतिबद्धता आइतबार तय भएको थियो । दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरेका बताइएको छ ।

मोर्चामा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियान सामेल छैन। ती दलविनानै उनीहरूले राजनीतिक आधार तयार पारेर मोर्चा गठनलाई अन्तिम रूप दिन लागेका हुन् ।

मोर्चाको प्रतिबद्धता पत्रको मस्यौदामा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने तथा निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने उल्लेख छ ।

शिक्षा, स्वास्थ्य जस्ता सामाजिक क्षेत्रहरूको रूपान्तरणका लागि राज्यले प्राथमिकता दिने, सबैका लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार, सामाजिक सुरक्षा र आवासमा पहुँचको प्रत्याभूति गराउने र शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रभावकारी बनाउने प्रतिबद्धता मोर्चा छ ।

त्यसैगरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने, जलवायु परिवर्तन, वातावरणीय प्रदूषण र प्राकृतिक विपत्का कारण उत्पन्न नकारात्मक असरलाई नियन्त्रण गर्ने, जैविक विविधता र पर्यावरणको संरक्षण गर्ने मोर्चाले जनाएको छ ।