समाचार

२८ घण्टापछि खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

१६ असार, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरूद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।

पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अठ्ठाइस घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएर राखिएका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यस सडक भएर यात्रा गर्ने यात्रु अलपत्र परेका छन् । पहिरो पन्छाउने काम सुरु भएको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन् ।