कृषि

पालिकाका कर्मचारीबाटै ठगिए माछा किसान

१६ असार, झपा । कचनकवल गाउँपालिका कर्मचारीले आफूहरुलाई ठगेको भन्दै माछापालक किसानले पालिका अध्यक्षलाई उजुरी दिएका छन् । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलाई दिएको उजुरीमा ५० प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसान ठगिएको उल्लेख गरेका छन् ।

पालिकाले माछापालक किसानलाई एउटा प्याकेटमा एक हजार माछाको मुरा भनेर पाँच सय मात्र दिएर ठगेको उजुरीकर्ताले उजुरीमा जनाएका छन् । माछा पालक भवेश राजवंशी, प्रदीप राजवंशी, कर्णसिंह राजवंशी, अर्जुन राजवंशी, बलाल राजवंशी र कैलाश मण्डलले आफूहरूमाथि ठगी भएको भन्दै अध्यक्ष राजवंशीविरुद्ध उजुरी दिएका हुन् । 

उनीहरुले माछाको भुराका लागि प्रतिगोटा रू डेढका दरले पालिकामा अग्रिम रकम जम्मा गरेका थिए । गाउँपालिकाले प्रतिगोटा रू तीन पर्ने भनिएको माछाको भुराका लागि रू डेढ कार्यालयका तर्फबाट बेहोर्ने गरी जेठमा सूचना प्रकाशित गरेको थियो । सोही सूचनाका आधारमा निवेदन दिएर रकम जम्मा गरेका ४२ किसानलाई पालिकाले भुरा उपलब्ध गराएको थियो । 

कचनकवल गाउँपालिकाले पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा कार्प जातको माछाको भुरा वितरण गरेको हो । 

पालिका अध्यक्ष राजवंशीले भने, “कर्मचारीबाट त्रुटि भएकै हो । सम्बन्धित कर्मचारी र शाखासँग यस विषयमा लिखित जवाफ माग गरिएको छ । कमजोरी गर्नेलाई ढाकछोप गरिन्न, दोष हेरेर कारबाही गर्छौं ।” उनले घटनाको यथार्थ के हो बुझेर चाँडै सार्वजनिक गर्ने बताए ।