गण्डकी प्रदेश

भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण

२५ असार, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ ।

लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन गर्ने लक्ष्य थियो । भवनको शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभएको थियो । भवनमा वडाध्यक्ष, सचिव, भण्डारणको कार्यकक्ष रहेका छन् ।

कोरोना महामारी, बाढी, पहिरोको प्राकृतिक विपत्तिका कारण भवन निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि रेशमबहादुर भण्डारीले बताए। “एक वर्षअघिनै भवन निर्माण सकिएको थियो”, उनले भने“प्राविधिक कारणले हालै मात्र भवन हस्तान्तरण भएको छ ।”

यसअघि स्वास्थ्यचौकीको पुरानो भवनबाट सेवा सञ्चालन हुदै आएको थियो । यसै हप्तादेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष अकप्रसाद विले बताउनुभयो । आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाह सहज हुने उनले बताए।

वडा कार्यालयमा फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्रीको अभाव भएको वडासचिव गिरिराज शर्माले बताए। गाउँपालिकाका अध्यक्ष पुनले वडा कार्यालयमा आवश्यक सामग्रीको तत्कालै व्यवस्थापन गरिने बताए।

धैलागिरि गाउँपालिकाको वडा नम्बर ७ को पनि कार्यालय भवन निर्माण भएको छ । विसं २०७७ मा ४ कोठे भवन निर्माणका लागि रु ४७ लाखमा डोल्पो कन्ट्रक्सनले ठेक्का पाएको थियो । रु ६६ लाख लागत अनुमान गरिएको वडा कार्यालय भवन विसं २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य थियो ।

नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको वडाध्यक्ष अशोक खत्रीले बताए। वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समनवय समितिले रु ३० लाख विनियोजन गरेको थियो । भवन निर्माणका लागि टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा दान गरेका थिए।