प्रदेश 1

कांग्रेसको बन्द–सत्रद्वारा १४ बुंदे नीति तथा कार्यक्रम पारित

३० असार, धरान । नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीको क्षेत्रीय तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको बन्द–सत्रले विभिन्न १४ बुंदे नीति तथा कार्यक्रम पारित गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको बन्द–सत्रले नीति तथा कार्यक्रम पारित गरेको हो । बन्द–सत्रमा क्षेत्रीय सचिव केशव पुरी, प्रदेशसभा १(१) सचिव राजेन्द्र राई, प्रदेशसभा १(२) सहसचिव रोहित काफ्लेले संगनको प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १(१) कोषाध्यक्ष रमिना सुब्बा र प्रदेशसभा १(२) कोषाध्यक्ष हरि थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


बन्द–सत्रले सभापति तामाङले प्रस्तुत गरेको प्रस्तावहरुमाथि घनिभूत छलफल गर्दै निम्नानुसार पारित गरेका छन् ।
१. सुन्दर, समुन्नत र समृद्ध धरान निर्माण गर्न “शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार – बहुसांस्कृतिक आवासीय धरान सहर” निर्माण गर्न पहल गर्ने ।
२. सुन्दर, समुन्नत र समृद्ध बराहक्षेत्र निर्माण गर्न “समृद्ध वराहक्षेत्रको आधार – कृषि, पर्यटन र दिगो पूर्वाधार” भन्ने नारालाई संवोधन गर्न पहल गर्ने ।
३. सुन्दर, समुन्नत र समृद्ध रामधुनी निर्माण गर्न “व्यवसायिक कृषि र उद्यम सहितको पर्यटकीय सहर – स्वस्थ्य, सुसंस्कृत र प्रविधिमा आधारित समृद्ध रामधुनी नगर” निर्माण गर्न पहल गर्ने
४. सहकारीमा डुवेको जनताको रकमका सम्बन्धमा राज्यको समेत ध्यानाकर्षण गराई न्यायोचित निकास दिलाउन पहल गर्ने ।
५. धरानसंग सीमा जोडिएका नगरपालिकाहरुसंग सुमधुर सम्बन्ध कायम गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास आदि क्षेत्रमा सहकार्य गर्ने ।
६. ज्येष्ठ नागरिक, एकल महिला, वालवालिका, अपांग, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अल्पसंख्यक आदि लक्षित वर्ग तथा समुदायको हक, अधिकारको रक्षा गर्दै जातिय तथा वर्गिय विभेद, छुवाछुत, लैंगिक विभेद, सामाजिक, सांस्कृतिक, धार्मिक विभेद आदि सबैखाले विभेदको अन्त्य गर्दै राज्यको श्रोत, साधनमा समान पहुंच स्थापित गर्दै समतामूलक र समावेशी समाज निर्माण गर्न पहल गर्ने ।
७. राज्यको कार्यकारी जिम्मेवारीमा पुगेका नेताहरु भ्रष्टचार, अनियमितता र जघन्य अपराधहरुमा मुछिनु, पार्टी सञ्चालन तथा अवसर र जिम्मेवारी पद्रान गर्दा नेतृत्वहरु गुटगत अभिप्रायले प्रेरित हुुस, अवसर प्राप्त गर्नका लागि जे पनि गर्ने तर अवसर पाईसकेपछि पार्टी र पार्टीको नीति तथा कार्यक्रमलाई भुल्ने, पटक पटक आफुले मात्र अवसर लिने तथा अरुलाई अवसर दिन नचाहाने प्रवृत्ति, आफुले पाए ठीक अरुले पाए वेठिक भन्ने मानसिकता, पार्टीमा भएको दण्डहीनता आदि कारणले पार्टीमा क्षयीकरण हुने क्रम बढेको भन्दै नेतृत्व सच्चिनु पर्ने ।
८. पार्टीमा सबै जना अनुशासन, मर्यादा र आचारसंहिताभित्र रहनुपर्ने तथा भ्रष्टाचार र जघन्य अपराधमा संलग्न जोकोहीलाई सफाई नपाएसम्म तत्काल निलम्वन गर्नुपर्ने ।
९. भ्रष्टचार विरुद्ध संस्थागत रुपमै अभियान चाल्नु पर्ने ।
१०. भ्रष्टाचारी, बलात्कारी, तस्कर, चोर, डाका, ठग, हत्यारा, अपहरणकारी, लागु औषध ओसारपसार तथा विक्री वितरण गर्ने, घरेलु हिंसा गर्ने, मानव अधिकारको उल्लंघन गर्ने, वालश्रम शोषण गर्ने, छुवाछुत, जातीय, सामाजिक, धार्मिक, सांस्कृतिक विभेद गर्ने, खाद्यान्यमा मिसावट गर्ने, कालोबजारी गर्ने, कृतिम अभाव सिर्जना गर्ने कसैलाई पनि पार्टीवाट संरक्षण नगर्ने ।
११ं मेलमिलाप र एकता अभियान सञ्चालन गर्ने र पार्टीलाई सहभागितामूलक र सामुहिक रुपले सञ्चालन गर्ने ।
१२. स्वास्थ्य र वातावरणको क्षेत्रमा गर्दै आएको अभियानलाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने ।
१३. पार्टी संगठनलाई सशक्तिकरण, सुदृढिकरण र शुद्धिकरण गर्ने ।
१४. प्रि इलेक्सन गठबन्धन नगर्ने ।

प्रदेशसभा १(२) का सभापति मुरारी भट्टराईले स्वागत तथा क्षेत्रीय सचिव महेन्द्र प्रधानले सञ्चालन गरेको बन्द–सत्रमा क्षेत्रीय सहसचिव भोजराज न्यौपाने, प्रदेशसभा १(१) सचिव युवराज शंकर, प्रदेशसभा १(२) सचिव राजेन्द्र खड्का, सदस्य मनोज तामाङले प्रतिनिधिहरुले राखेका विचारहरु टिपोट गरेका थिए । अत्यन्तै सिष्टमका साथ प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा सञ्चालन भएको बन्द–सत्रमा बराहक्षेत्र ३ का सभापति पनु धामी, धरान ७ का सभापति सुवर्ण पलिखे, बराहक्षेत्र १ का क्षेत्रीय प्रतिनिधि मनोज तामाङ, क्षेत्रीय सल्लाहकार गोकुल श्रेष्ठ, क्षेत्रीय सल्लाहकार प्रेम पौडेल, नेपाल महिला संघ जिल्ला सभापति विजया कटवाल, धरान १३ का क्षेत्रीय प्रतिनिधि पुष्प ढकाल, नेपाल दलित संघ प्रदेश सभापति गोविन्द दर्नाल, पूर्व धरान नगर सभापति किशोर राई लगायतले विचार राखेका थिए ।

बन्द–सत्रमा नेता चन्द्र प्रसाद श्रेष्ठ, गिरिराज आचार्य, प्रदेश सदस्यहरु सन्तोष विक, अन्जना राई, गणेश परियार, जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, महासमिति सदस्यहरु पर्वत राई, सुवास राई, जगतबहादुर कटवाल, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, श्यामा रेग्मी, कृष्णकला मादेन, महाधिवेशन प्रतिनिधिहरु चन्द्रशेखर लामा, रवि राई, राजु शाह, चित्रकुमारी राई, निलकुमारी गिरी, डा. तुलसी गौतम, दिपेशजंग बस्नेत, पुजा धामी, जिल्ला सदस्यहरु विनोद घिमिरे, अनुपमा सुनुवार, चन्द्र नेपाल, इन्दिरा पलिखे, नेपाल तरुण दल केन्द्रीय सदस्य प्रेम राई लगायतको उपस्थिति रहेको थियो ।