प्रदेश 1

ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

३१ असार, ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।

शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए। उनका अनुसार अस्थायी टहरा निर्माणका लागि यहाँस्थित सबै राजनीतिक पार्टी, सुरक्षा निकाय, जनप्रतिनिधिको संयुक्त टोली खटिने छ । उनका अनुसार आगामी साउन ७ गतेदेखि उक्त काम प्रारम्भ हुने छ ।

यस्तै स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वनेमले आग्रहसमेत गरे। बाढीपहिराका कारण यस गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् । ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुल बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिराले चिराचिरा परेको छ । पहिराकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ ।

ताप्लेजुङमा लाखे नाच

ताप्लेजुङमा शनिबारदेखि नेवार समुदायमा प्रचलित लाखे नाच सुरु गरिएको छ । गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले सदरमुकाम फुङलिङस्थित भिन्तुना डाँडामा लाखे नाच सुरु गरेको हो ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले लाखे नाचको शुभारम्भ गरेका छन् । नेपाल भाषा तथा सांस्कृतिक समाजले भिन्तुना डाँडामा लाखे नाच शुभारम्भ समारोहको आयोजना गरेको थियो । सांस्कृतिक पर्व गठेमङ्गलका अवसरमा हरेक वर्ष सदरमुकामवासीले लाखे नाच निकाल्दै आएका छन् ।

लाखेको मुखुन्डो पहिरिएर प्रस्तुत गरिने परम्परागत नृत्यलाई नै लाखे नाच भन्ने गरिएको छ । उक्त नाचमा ढोलक, ट्याम्को, मजुरालगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको मान्छेको आत्माले दुःख नदेओस् भनेर यो नाच देखाइने गरेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शङ्कर श्रेष्ठले बताए।

नेवार समुदायमा तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिने गरिएको छ । यस दिनमा भीमकाय राक्षसको सम्झना गरिन्छ भने उक्त राक्षसको मृत्युपछि भय त्रासबाट मुक्त भएको विश्वास गरिन्छ ।