पत्रपत्रिका

वीरमा सखारै सेवा

१ साउन, काठमाडौं । मुलुककै जेठो वीर अस्पतालमा जँचाउन जाँदै हुनुहुन्छ भने तपाईंलाई अझै खुसीको कुरा छ । अब यहाँको सेवा पाउन १० बज्नु पर्दैन । ७ बजे नै टिकट काउन्टर खुल्छ, ८ बजेबाटै उपचार सेवा सुरु हुन्छ ।

आइतबार मात्र ३ हजार १ सय बिरामीले बिहान ८ बजेदेखि नै टिकट काटेका छन् । सोमबारदेखि बिहान ७ बजे नै टिकट काउन्टर खुल्ने बताउँछन् अस्पतालका निर्देशक सन्तोष डा. पौडेल । भन्छन्, ‘टिकट काट्नेदेखि जाँच र शल्यक्रिया सेवासमेत बिहानैदेखि सुरु गरिएको छ ।’

अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था गरे पनि सेवाग्राहीले उपयोग गर्न भने सकेनन् । दूरदराजका बिरामीले अनलाइनबाट टिकट काट्न नसकेपछि सेवा प्रवाहलाई बिहानैदेखि सुरु गरिएको डा. पौडेलले जानकारी दिए । ‘टिकटका लागि सेवाग्राहीहरू रातिबाटै लाइन लाग्न बाध्य भएको पायौं,’ निर्देशक डा. पौडेलले भने, ‘सेवालाई सहज बनाउन अनलाइनबाट टिकट काट्ने व्यवस्था गर्‍यौं । तर, उपचार गर्न आउनेहरू सूचनाप्रविधिमैत्री भएको पाइएन । बिरामीहरूको अनलाइन सेवामा पहुँच नभएपछि बिहानै टिकट वितरण सुरु गरेका छौं ।’

साउन १ गतेदेखि बिरामीले बिहानै ७ बजेदेखि टिकट लिने व्यवस्था गरिएको हो । अपराह्न साढे २ बजेसम्म टिकट लिन पाइने छ । त्यस्तै स्वास्थ्यकर्मीले बिहान ९ बजेभन्दा अगावै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था गरिएको डा. पौडेलले जानकारी दिए । ‘स्वास्थ्यकर्मीले बिहानै जिम्मेवारी हस्तान्तरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान ८ बजेदेखि ९ बजेसम्म जिम्मेवारी हस्तान्तरण र क्लिनिकल अडिट हुने छ,’ उनले भने ।

शल्यक्रिया सेवा पनि बिहान ८ बजेदेखि नै सुरु गर्नेरगराउने भन्दै डा. पौडेलले सबै विभाग, युनिट, शाखा र वार्डमा परिपत्र गरेका छन् । बहिरंग सेवा बिहान ९ बजेभन्दा अघि नै सुचारु हुने जनाइएको छ । वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीका लागि ई–हाजिरी अनिवार्य गरिएको छ । अन्नपूर्ण पोस्टमा समाचार छ ।