समाचार

जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्छ : उपराष्ट्रपति

३ साउन, काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका जनगुनासो अन्त्यका लागि जनप्रशासन सङ्घले भूमिका खेल्नुपर्ने बताएका छन् ।

सङ्घले आज आयोजना गरेको ‘हेमबहादुर मल्ल सम्मान’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सार्वजनिक क्षेत्रको नीति–निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा सङ्घले व्यावसायिक पृष्ठपोषण गर्ने गरेकामा खुसी व्यक्त गरे ।

“नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भई यहाँ तीन तहको संरचनाअनुसारको सरकार छ । यो बदलिँदो संरचनामा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि प्रशासक, व्यवस्थापक र कर्मचारीहरूलाई थप प्रशिक्षण, ज्ञान, कार्यदक्षता र सीपको आवश्यक हुन्छ”, उनले भने ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै उनले विविधताबीचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धनका लागि सबैले भूमिका खेल्नुपर्ने बताए ।

“वर्गीय, जातीय, क्षेत्रीय, सङ्घीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्पका साथ अघि बढ्नु पर्दछ”, उनले भने ।

समतामूलक समाज स्थापना गर्न जनअपेक्षाअनुरुपको जनमुखी सेवा प्रभावलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारी, जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न सङ्घले थप उत्तरदायित्व बोध गर्नुपर्ने बताए ।

“हामी डिजिटल युगमा रहेकाले त्यहीअनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जित गर्दै अघि बढ्नै पर्दछ । यसले सेवा प्रवाह छरितो, छिटो, सरल, सुगम, सहज, पारदर्शी, जनमुखी र जवाफदेही मात्र बनाउँदैन, जनगुनासो र जनअपेक्षाअनुसारको सेवासमेत सेवाग्राहीले पाउन सक्छन्”, उनले भने ।

उनले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउने महत्त्वपूर्ण व्यक्तित्वहरूलाई सङ्घले गर्दै आएको सम्मान कार्यक्रमको प्रशंसा गरे । प्रशासन र व्यवस्थापन क्षेत्रका समसामयिक विषयमा मुलुकलाई दिशानिर्देश गर्न सङ्घ सदैव सक्रिय रहने विश्वास व्यक्त गर्दै उनले मुलुकमा सुशासन कायम गर्न, विधिको शासन सञ्चालन गर्न, जवाफेदेहिता र उत्तरदायित्व अभिवृद्धि र भ्रष्टाचार न्यूनीकरण गर्न सङ्घ सधैँ क्रियाशील रहन सकोस् भनी कामना गरे ।