४ साउन, काठमाडौं । बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले खर्च घटाउने नाममा सेनाको आकार घटाउने विषयमा छलफल गर्नु उचित नहुने बताए ।
उनले कुनै पनि राज्य बन्नका लागि भूमि, अधिकार सम्पन्न जनता, स्वतन्त्र सरकार र सेना गरी चार अंग आवश्यक पर्ने बताए । ती चार अंगमध्ये एउटा अंग कमजोर भए पनि दुर्घटना व्यहोर्नुपर्ने गौतमको भनाइ छ ।
‘राज्यका चार अंग छन्, एउटा अंग कमजोर भयो भने हामीले दुर्घटना ब्यहोर्ने भन्दा केही हुन्न’, उनले अघि भने, ‘त्यसैले नेपाली सेनालाई हामीले अपमान गर्न हुँदैन ।’
नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरुलाई इतिहास पढ्न सुझाव दिए । खर्च घटाउन प्रतिनिधिसभाका सदस्यहरुको संख्या घटाउन सकिने, राष्ट्रियसभा नै खारेज गरे पनि हुने भन्दै उनले सेनाको आकार घटाउन नहुने बताए ।





