अन्तर्राष्ट्रिय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

२० साउन, एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई इस्लामावादको जिल्ला तथा सत्र अदालतले ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ ।

तोशखाना मुद्दामा अदालतको फैसलापछि खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । इमरानको पार्टी तेहरिक-ए-इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ ।

पार्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको हत्या गर्ने प्रयास गरेका छन् र मुद्दाको तथ्यलाई निश्चित एजेण्डाअन्तर्गत सार्वजनिक गरिएको छ ।’

इमरानले सत्तामा रहँदा आफूले पाएका उपहारहरूबारे अधिकारीहरूलाई सही जानकारी नदिएको आरोप लगाइएको थियो ।