समाचार

महत्त्वपूर्ण योजनामा युद्धस्तरमा काम गर्नुपर्छ : मन्त्री ज्वाला

२६ साउन, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजना, रूपान्तरणकारी योजना र अन्य महत्त्वपूर्ण योजनाहरूमा युद्धस्तरमा काम गर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज आयोजना गरेको प्रगति समीक्षा कार्यक्रममा उनले वर्षाैं पहिले निर्माणका काम थालिएका योजना पटकपटक अवधि थप्दा पनि नसकिँदा नागरिकमा गलत सन्देश जाने बताए । उनले यो वा त्यो बहानामा निर्माणकार्य ढिला नगर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले भने, “अन्धाधुन्ध काम गरेर मात्र हुँदैन, शक्तिशाली सिंहजस्तै दुई कदम अगाडि बढ्ने र एक पटक समीक्षा गर्ने नीति लिएर निर्माणकार्यमा लाग्न जरुरी छ ।”

मातहतका कर्मचारीलाई निर्देशन दिँदै मन्त्री ज्वालाले प्रत्येक चौमासिकमा योजनाको अनिवार्य समीक्षा गर्ने चलन बसाल्नुपर्नेमा जोड दिए । त्यसले आयोजनामा आएका समस्याको पहिचान र समाधानको उपाय दिने उनको भनाइ छ ।