खेलकुद

देश बनाउन युवा जुट्नुपर्छ : मन्त्री लिम्बू

२७ साउन, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश बनाउन युवा जुट्नुपर्ने बताएका छन् । २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले देश बनाउने संकल्पका साथ युवा अगाडि बढ्नुपर्ने बताए ।

“सबै मिलेर काम गर्ने हो भने देश बनाउन धेरै समय लाग्दैन”, मन्त्री लिम्बूले भने । देशलाई समृद्ध बनाउन युवा अगाडि बढ्नुपर्ने मन्त्री लिम्बूको भनाइ छ । “जुन रुपमा हामी अगाडि बढेका छौँ । युवालाई चित्त बुझेको छैन । युवाले खोजेको कुरा प्राप्त भएको छैन । नीति परिमार्जन गरेर युवालाई अवसर दिन चाहन्छ्”, उनले भने । युवालाई उद्यमशील बनाउनका लागि यो वर्षलाई सरकारले युवा उद्यमशिलता वर्ष मनाउन थालेको मन्त्री लिम्बूले जानकारी दिनुभयो । युवाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा अग्रसर भएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले युवा जनशक्ति देशको विकासका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई नेपालमा काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उहाँले शिक्षा, स्वास्थ्य र रोजगार युवा केन्द्रीत गर्न सके देशको विकास हुने बताए ।

युवा मन्त्रालयका सचिव रविलाल पन्थले युवालाई सक्षम नबनाएसम्म देश नबन्ने बताए । रोजगारी र गन्तव्यको अनेक विकल्प भए पनि मातृभूमिको विकल्प नभएकाले युवालाई जिम्मेवार बनाउनुपर्ने बताए ।