राजनीति

सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : रक्षामन्त्री खड्का

२७ साउन, काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताएका छन् ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घको आज यहाँ आयोजित राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा जनताको पूर्ण समर्थन पाइरहेकाले स्थायित्वमा कुनै शङ्का नगर्न सुझाव दिए ।

खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पारे । नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधैँ तयार रहेको पनि बताए ।

खड्काले नेपालमा टेलरिङ व्यवसाय प्राचीनकालदेखि नै मर्यादित र विशिष्ट व्यवसायका रुपमा परिचित रहेको उल्लेख गरे । खड्काले टेलरिङ व्यवसायमा संलग्न व्यक्तिलाई मौलिक व्यावसायिकता र विश्वास कायम राखेर सङ्गठन विस्तारमा ध्यान पुर्‍याउन सुझाव दिए ।

खड्काले भने, “व्यवसायीले कर, राजस्व, ब्याज, ऋण र लगानीबारे उठाएका प्रश्नबारे निजी क्षेत्रसँग छलफल भइरहेको छ, मुलुकको पहिचन र मौलिक संस्कृतिका रुपमा रहेको टेलरिङ व्यवसायको विकास र विस्ताका लागि सरकारको साथ र सहयोग रहन्छ ।”