समाचार

साउनको अन्तिम सोमबार : शिवालयमा भक्तजनको घुइँचो

२९ साउन, काठमाडौँ । सौरमास अनुसार साउनको अन्तिम सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । विगतका सोमबारभन्दा आज अन्तिम सोमबार भएकाले पशुपतिसहित राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै घुइँचो देखिएको हो ।

आज अन्तिम सोमबार भएकाले भक्तजनहरु बिहानैदेखि दर्शनका लागि आउने हुँदा बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए। उनका अनुसार विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजन आज शिवालयहरुमा दर्शनका लागि लाम लागेका छन् ।

पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिमा जस्तै व्यवस्था गरिएको कोषले जनाएको छ । भक्तजन जुन ढोकाबाट दर्शनका लागि प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने व्यवस्था गरिएको पराजुलीले बताए।

अधिकांश रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनमध्ये कतिपय तस्बिर खिच्न र टिकटक बनाउनकै लागि शिवालयमा आएका जस्तो देखिएको दर्शनार्थी राजेन्द्रप्रसाद श्रेष्ठले बताए। 

यसवर्ष सौरमास अनुसार साउनमा पाँच सोमबार परेका छन् । साउने सोमबारको आज अन्तिम दिन भए पनि यसपछि चान्द्रमास अनुसार साउनका सोमबार बाँकी छन् । यसवर्ष साउनमा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ । 

एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसार साउन महिनाको सोमबार गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत, उद्यापन गर्न हुने तर्क गरेका छन् । अर्काथरीले अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउनमा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उक्त विषयमा आधिकारिक निर्णय नगरिएको जनाउँदै कुल, परम्परा अनुसार नै वर्तालुले साउने सोमबारको व्रत गरेका बताएको छ । 

साउनको सोमबार आज पशुपतिनाथमा बोल बम यात्रीको पनि भीड लागेको छ । सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरिजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोल बम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए । 

 पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका ठूलासाना शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको जनाइएको छ । 

साउनमा शिवालयमा शुद्धजलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ । साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने कोषले जनाएको छ । कोषका अनुसार साउने सोमबारमा रू सात हजार पाँच सय बढीको मात्र विशेष पूजा गर्न सकिने व्यवस्था गरिएको छ ।