३१ साउन, काठमाडौँ । ‘नइ एकेडेमी अस्ट्रेलिया’ ले आशन्न तीजका अवसरमा अष्ट्रेलियाको ग्रानभिलको रातो घरमा सांस्कृतिक कार्यक्रम आयोजना गरी विभिन्न विधाका उत्कृष्ट नारीलाई ‘नइ नारी गौरवी पुरस्कार’ प्रदान गरेको छ ।
नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर९ २०२३ अवार्ड नाम दिइएको सो पुरस्कार शिक्षा तथा समाजसेवातर्फ जमुना गुरुङ, विज्ञान तथा प्रविधितर्फ डा अर्चना कोइराला र कला, संस्कृति र समाजसेवातर्फ नारी निकुञ्ज अस्ट्रेलियालाई प्रदान गरियो । ती पुरस्कारका राशी जनही पाँच सय डलर रहेका छन् ।
त्यसैगरी अस्ट्रेलियामा वसोबास गरी विविध क्षेत्रमा उल्लेखनीय योगदान दिने नारीहरुलाई नइ एकेडेमी अस्ट्रेलियाले कदरपत्र प्रदान गरेको थियो । कदरपत्र ग्रहण गर्नेमा श्वेता मैनाली, उषाकिरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, नीना शाही र प्रतिज्ञा अधिकारी रहनुभएको नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले जानकारी दिए।
कलाकार र गायकले सांस्कृतिक प्रस्तुति दिइएको कार्यक्रममा एनआरएनए, अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङले नेपाली संस्कृति, कला र भाषाको उत्थानका लागि योगदान दिन आफूहरु लागिरहने बताए। सोही संस्थाका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेलले एनआरएनए कला संस्कृतिको उत्थानका लागि नइ एकेडेमीजस्ता संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताए। अष्ट्रेलियाका सांसद डोना डेविसले अन्य समुदायजस्तै नइ एकेडेमी अस्ट्रेलिया पनि ठुलो नेपाली समुदाय रहेको बताए।