समाचार

उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्छ : प्रहरी महानिरीक्षक

३१ साउन, काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताएका छन् । हालै सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी अधिकृतलाई आज प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीमा खरोरूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृत थप सक्रिय हुनुपर्ने बताए ।

प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनलाई सुधार्न, थप सुदृढ एवं बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लागि सबैको साथ सहयोग आवश्यक रहेको उल्लेख गरे । “व्यावसायिक स्वार्थलाई आत्मसात् गरी निष्ठावान, इमान्दार एवं सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्छ”, उनले भने ।

उनले कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको भएकाले हरेक पलपलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवं नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसात् गरी सिमान्तकृत एवं पीडितवर्गको सारथी भई उनीहरूको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको आन्तरिक सुदृढीकरण एवं प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्न सरूवाको मापदण्ड अगाडि बढाएको बताए ।

उनले कानुनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजनाअनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजस्व अभिवृद्धि, चोरीपैठारीलगायत अन्य आपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी बहन गर्नुपर्ने बताए । भीड नियन्त्रणमा थप संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नुपर्ने उनको भनाइ थियो ।