४ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुन: आज पनि राष्ट्रिय मान्यताप्राप्त दलहरूलाई सर्वदलीय बैठक बोलाएका छन् ।
आइतबार बसेको सर्वदलीय बैठक निष्कर्ष विहीन टुङ्गिएको थियो । हिजोको बैठक सहमति नजिक पुगेकाले आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको नेताहरूले बताएका छन् । आजको सर्वदलीय बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार सदन सञ्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्नेछन् ।
प्रमुख प्रतिपक्ष दल एमालेले उच्चस्तरिय छानबिन समिति गठन गर्नु पर्ने माग राख्दै साउन १० गते बाट सभाको बैठक अवरोध गर्दै आइरहेको छ ।





