समाचार

देउवाको दबाबमा शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइयो

४ भदौ, काठमाडौं । गृह मन्त्रालयले सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइएको छ ।

देउवाको दबाबमा गृहले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

गृह मन्त्रालयका अनुसार केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौं प्रहरी परिसर, टेकुमा एसएसपी भुपेन्द्र खत्रीलाई पठाइएको छ ।

यस प्रकरणका दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि यसअघि मन्त्रिपरिषद्ले हटाएर उनको ठाउँमा एआईजी दिपक थापा पठाइएका छन् ।