आर्थिक

रू दुई अर्ब ३७ करोड विद्युत् बक्यौता उठाउन बाँकी

६ भदौ, बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले रू दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ ।

विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम् सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई कालोसूचीमा राखिएको केन्द्रका इञ्जिनियर सन्तोष चौहनले जानकारी दिए। उनका अनुसार सिमेन्ट उद्योगले आठ वर्षदेखि बक्यौता तिरेको छैन ।

इञ्जिनियर चौहनले उद्योगले हालसम्मको रू दुई अर्ब २४ करोड विद्युत् महसुल बक्यौता तिर्न बाँकी रहेको जानकारी दिए। “उद्योगलाई विद्युत् आपूर्ति सहज गराउनका लागि ‘लोडसेडिङ’को समयमा केन्द्रले ‘डेडिकेटेड’ प्रसारण लाइन उपलब्ध गराएको थियो”, उनले भने, “त्यसबेलादेखिको महसुल तिर्न अटेर गरिरहेको छ ।”

उद्योगसहित विद्युत् बक्यौता नतिर्ने नौ सय ४२ लाई कालोसूचीमा राखे पनि महसुल उठाउन नसकिएको इञ्जिनियर चौहनले बताए। महसुल नतिर्ने ग्राहकका तीन पुस्तासम्म मिटर जडान गर्न नपाइने गरी कालोसूचीमा राखिएको उनको भनाइ थियो ।