६ भदौं, काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी, ललिता निवास र नक्कली शरणार्थी प्रकरणको छानबिनमा नेपाल प्रहरीको छानबिन राजनीतिबाट प्रभावित भएको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले सीआईबीको अनुसन्धान ठीक दिशातिर गइरहेको बेला अचानक अर्कैतिर लाग्ने गरेकाले छानबिन आयोगको माग गरिएको बताए ।
“सीआईबीको गाडी अनुसन्धानको ठीक दिशामा गइरहेको हुन्छ तर अचानक गाडी मोडिन्छ” उनले अघि भने । यस प्रकरणमा ठूला नेताहरूको नाम आउँदा अनुसन्धान प्रभावित भएको उनले बताए ।
“एमाले र सीआईबीबीचमा केही अविश्वास सिर्जना गर्ने कोसिस भयो । एमालेले राज्यका कुनै निकायप्रति अविश्वास गर्दैन”, एमाले सचिव समेत रहेका भट्टराईले अघि भने, “ललिता निवासमा सीआईबीको गाडी ठीक ठाउँमा पुगिरहेको हुन्छ । जब ठूलाहरूलाई समातिनुपर्ने हुन्छ, गाडी मोडिन्छ । हामीलाई झस्का पस्यो । इलेक्ट्रिक सिगरेटको बारेमा तमाम पत्रिकामा कुरा आए । हामी हेरिराख्या थियौं, सीआइबीले ठीकै छानबिन गर्ला भनेर तर केही उच्चपदस्थ नेताहरूको नाम आयो । सीआईबीको गाडीमा ब्रेक लाग्यो र मोडियो, हामीलाई झस्का पस्यो । भुटानी शरणार्थी केसमा त्यस्तै भयो ।’





