६ भदौ, झापा । माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरियालगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ ।
बिर्तामोडमा रहेको सो कन्सल्टेन्सीले प्रतिव्यक्ति रु ५० हजारदेखि पाँच लाखसम्म ठगी गरेको र कन्सल्टेन्सी सञ्चालक फरार रहेको पीडितले बताएका छन् । शिवसताक्षी नगरपाालिकास्थित माइधार घर भएका पदम योङ्हाङसहित लक्ष्मीप्रसाद बराल (अञ्जान), धर्म तिम्सिना र अर्जुनधाराका लक्ष्मण घिमिरेले ७० जनाभन्दा बढी व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको अर्जुनधारा–६ निवासी चन्दा अधिकारीले बताए ।
श्रीमान् दीपक अधिकारीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै लक्ष्मण घिमिरे र लक्ष्मीप्रसाद बराल (अञ्जान) ले आफूहरूसँग रु तीन लाख ठगी गरेको अधिकारीले बताए । गत वर्ष भदौ ३० गते आफ्ना श्रीमान्लाई माल्टा पठाउने भन्दै घिमिरेले आफूहरूसँग राहदानीसहित रु एक लाख, चार महिनापछि पुसमा पुनः रु एक लाख त्यस्तै मेडिकल तथा प्रहरी रिपोर्टका लागि रु नौ हजार छ सय र चैत ३ गते वर्क पर्मिटका लागि भन्दै पुनः रु एक लाख लिएर सम्पर्कविहीन भएको अधिकारीले बताए ।
रकम लिएको तीन महिनामा माल्टा उडाउँछु भन्ने घिमिरेले पछि आफूले माल्टा पठाउन नसकेको र काठमाडौँमा रहेका सरसँग कुरा गर्नु भन्दै अञ्जानसँग सम्पर्क गराएको पीडित अधिकारीले बताए । उनले भने, “काठमाडौँबाट सर आउनुभएको छ भन्दै घिमिरेले पुस ४ गते अञ्जानसँग भेट गराएको र पुसमा पुनः दोस्रो पटक मेडिकल गराएर फागुनको अन्तिमतिर ‘एग्रिमेन्ट पेपर’ दिँदै विश्वास दिलाएर पुनः रु एक लाख चैत ३ गते दिएका हौँ । योसहित उनीहरूले हामीलाई ठगेको रु तीन लाख नौ हजार छ सय पुगेको हो ।
वर्क पर्मिटका लागि तत्काल पैसा चाहिने भन्दै अञ्जानले आफूहरूसँग रकम मागेबमोजिमको रु एक लाख रकम प्रदान गरेको र राहदानीको मितिसमेत सकिन लागेकाले नयाँ राहदानी बनाएको अधिकारीको भनाइ छ ।
“सन् २०२४ मा श्रीमान्को राहदानीको मिति सकिँदै थियो”, अधिकारीले भने, “हतारहतार गर्दै नयाँ राहदानी बनाएर अञ्जानलाई जिम्मा लगायौँ । राहदानी लगेसँगै अञ्जान बेपत्ता बने । हामी अहिले ऋणले घरको न घाटको भएका छौँ । सयकडा तीन रुपैयाँ ब्याजले पैसा खोजेको थियो । अहिले दिनहुँ साहु घरमै आएर पैसा माग्छन् । न साँवा तिर्न सकियो न ब्याज तिर्न सकियो । हाम्रो त उठिबास नै लाग्यो ।”
“घिमिरे र बरालले आफूहरूलाई ठगी गर्दै उठिबास लगाएसँगै न्यायको खोजीमा पटक/पटक जिल्ला प्रशासन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी धायौँ”, अधिकारीले भने, “हाम्रो आवाज कसैले सुनेन । अनि मिडिया गुहारेका हौँ हामीलाई अन्याय भएको लेखिदिनुप¥यो ।”
“श्रीमान्लाई विदेश पठाएसँगै जीविकोपार्जनमा सहज हुने कत्रो सपना थियो”, अधिकारीले गहभरि आँसु पार्दै भने, “अहिले ठगले हामीलाई न घरको बनाए न घाटको ।”
अधिकारीसँगै ठगिनेमध्येका शिवसताक्षी–१० का दीपककुमार कोइरालाको पनि व्यथा उस्तै छ । रोमानिया जाने सुन्दर सपना बोकेर रु ७० हजारसहित कोइरालाले पनि राहदानी धर्म तिम्सिनालाई थमाए । तिम्सिनाले पनि कोइरालालाई ‘हेड अफिस’को सर भन्दै उनै अञ्जान बरालसँग जोडाएका थिए ।
युरोपको काम हेर्न अञ्जान भएको र आफूले खाडी र मलेसियाको मात्रै काम हेर्ने भए पनि ‘हामी दुवैले सहकार्य गरेर अफिस चलाएकाले तपाईंको रकम फस्दैन’ भन्दै सुरुमा राहदानीसहित रु ५० हजार लिएको र पछि वर्क पर्मिटका लागि दुई सय यूरो पठाउनुपर्छ भन्दै रु २० हजार लिएको कोइरालाको भनाइ छ ।





