समाचार

सचिव राउतको बयान: तोक आदेश अनुसार हस्ताक्षर गरें

७ भदौं, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाल सरकारका सचिव कृष्णबहादुर राउतले तोक आदेश अनुसार जिम्मेवारी निभाएको बयान दिएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले लिएको बयानमा सचिव राउतले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव दीप बस्न्यातले दिएको तोक आदेश अनुसार नै फाइल उठाएर आवश्यक निर्णयार्थ पेश गरेको आफूले कुनै फाइदा भने नलिएको दावी गरेका छन् ।

सचिव राउतले ०६७ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालयको शाखा अधिकृत भएको र त्यसबेला विशिष्ट व्यक्तिहरुको सरकारी निवास भवन परिसर क्षेत्रको जग्गा विस्तारबारे अनुसूची संशोधन गर्न उठाइएको टिप्पणीमा आफूले हस्ताक्षर गरेको बयान दिएका छन् ।

त्यस्तै, उनले बयानको क्रममा मन्त्रिपरिषद्का पूर्वनिर्णयहरु, विभिन्न प्रचलित निकायहरुका पत्र समेत समावेश गरेर अनुसूची तयार भएको भनिएकाले त्यसबेला आफूले अविश्वास गर्ने ठाउँ नभएको बताएका छन् ।