७ भदौ, बिराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताए ।
शुक्रबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता पक्षले नबनेको सरकार बन्यो भन्ने, सभामुखलाई राजीनामा गर्न लगाउने जस्ता काम गरेको बताए ।
हिजो हतियार उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको बताउँदै अध्यक्ष ओलीले भने, “कांग्रेस जस्तो पुरानो पार्टीले एकछिनका लागि बलजफ्ती गरको, संविधान मिच्ने ? कांग्रेसले त मान्नुपर्थ्यो नि कमसेकम । एमालेको सरकार बन्छ । एमालेको सरकार चल्छ । एमालेले मजाले चलाउँछ ।”





