साहित्य

फित्कौलीद्वारा पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान

११ भदौ, काठमाडौँ । हास्यव्यङ्ग्य केन्द्रित फित्कौली अनलाइन मिडियाले पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । यस्तै हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच अग्रज स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको छ ।

कार्यक्रमको आरम्भमै हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले कार्टुन नै कोरेर काटुनिस्ट राजेश मान्धरको एकल कार्टुन प्रदर्शनीको शुभारम्भ गरेका थिए। फित्कौलीका प्रधान सम्पादक नरनाथ लुइँटेलले हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्र्रह ‘भ्यागुताको श्वेतपत्र’ वरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेद्वारा, स्रष्टा राजेन्द्र कार्कीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘खाइराइड’ वरिष्ठ समालोचक तथा साहित्यकार गोविन्दराज भट्टराईद्वारा, स्रष्टा सुभाषचन्द्र देवकोटाको व्यङ्ग््य कविता सङ्ग्र शान्तदास मानन्धरले र बुढ्यौली साहित्यिक अभियन्ता डा मुकेशकुमार चालिसेको बुढ्यौली साहित्यिक कृति उज्याला जून’ भैरव रिसालद्वारा र साहित्यकार ठाकुरप्रसाद अधिकारीको हास्यव्यङ्ग्य निबन्ध सङ्ग्य ‘बेसारे घुर्की’ चट्याङ मास्टद्वारा लोकार्पित भएको थियो ।

लोकार्पित कृति ‘डाँडाका उज्याला जून’ समीक्षात्मक चर्चा वरिष्ठ साहित्यकार पत्रकार रोचक घिमिरेले गर्नुभएको थियो भने बाँकी चार विमोचित हास्यव्यङ्ग्य कृतिहरूका बारेमा वरिष्ठ समालोचक-साहित्यकार गोविन्दराज भट्टराईले प्रकाश पारेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा सम्मान तथा पुरस्कार समर्पण कार्य भएको थियो । फित्कौली अनलाइन मिडियाद्वारा स्थापित ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान–२०८०’ द्वारा विगत चार दशकदेखि हास्यव्यङ्ग्य लेखनमा क्रियाशील व्यक्तित्व पाल्पाका चोलेश्वर शर्मालाई नगद रु २० हजार एक सय पाँचसहित सम्मानपत्र अर्पण गरिएको थियो । त्यसैगरी स्याङ्जाकी हास्यव्यङ्ग्य लेखिका गायत्री परिरोशनीलाई ‘गोविन्द–विजया फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कार–२०८०’, झापाका हास्यव्यङ्ग्य कवि खगेन्द्र न्यौपानेलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय कविता पुरस्कार–२०८०’, गुल्मीका हास्यव्यङ्ग्य निबन्धकार काशीनाथ मिश्रितलाई ‘फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय निबन्ध पुरस्कार–२०८०’ र भक्तपुरका कवि रामशरण न्यौपानेलाई ‘मुकुन्द–मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार–२०८०’ समर्पण गरिएको थियो ।

सम्मानित स्रष्टा एवं लोकार्पित कृतिका स्रष्टालाई भैरव रिसालले शुभकामना व्यक्त गर्दै फित्कौलीले यस्तो कार्यकममा सहभागी हुने मौका दिएकामा धन्यवाद दिएका थिए । यी पुरस्कारको रकम जनही १५ हजार एक सय पाँच र सम्मानपत्र रहेको थियो भने फित्कौली प्रोत्साहन पुरस्कार स्वरूप कार्टुनिस्ट राजेश मानन्धरलाई नगद रु १० हजार एक सय पाँच सम्मानपत्र समर्पण गरिएको थियो । यसपछि सम्मानित तथा पुरस्कृत व्यक्तिहरूबाट मन्तव्य तथा रचना वाचन भएको थियो ।