राजनीति

विभाजित कम्युनिष्ट एक ठाउँमा केन्द्रित हुनु आवश्यक : प्रधानमन्त्री दाहाल

१५ भदौ, गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताएका छन् । समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए ।

यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ । उनले रेमिट्यान्स एवं राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चितीलगायतमा उपलब्धि हासिल भएको बताए । अर्थतन्त्रमा अझै पनि दबाब कायम रहेको बताउँदै उनले बैंकको ब्याजदर, सहकारी क्षेत्रलगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताए ।

भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री दाहालले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पारे । भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेका छानविन निष्कर्षतिर जाने उनले बताए ।

भारत भ्रमणका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उनले भएका उपलब्धिलाई सुन्ने तथा भन्ने वातावरण पनि नदिइएको उल्लेख गरे । आफूले चाँडै नै न्यूयोर्क र त्यसपछि चीनको भ्रमणमा जान लागेको जानकारी दिँदै उनले न्यूयोर्कमा जलवायु परिवर्तनबाट भएका विपत्तीलगायत विषयमा छलफल गरिने बताए ।

चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने उनले जानकारी दिए । उक्त भ्रमणका क्रममा कोरोला नाका र रूइला नाका खोल्ने चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको प्रधानमन्त्री दाहालले बताए ।

नेपालले चीनसँग सुकेको घाँस निर्यात, राँगो तथा भैँसीको मासु नियात गर्न सक्ने धेरै किसिमका सम्भावना रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाललगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुखरूपले कुरा उठाउने बताए । जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिङ्गो विश्वको मुद्दा भएको उनको भनाइ छ ।

“केही दिनपछि म संयुक्त राष्ट्रसङ्घको महासभामा जाँदैछु । यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाललगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीररूपले कुरा उठाउँछु । आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिङ्गो मानवजातिको भविष्यमा नै चुनौती खडा भएको छ । यसबारे गम्भीररूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ,” प्रधानमन्त्री दाहालले भने ।

कुनै आवेगमा आएर समाजवादी मोर्चा गठन नभएको स्पष्ट पार्दै उनले यसले सच्चा कम्युनिष्ट तथा लोकतन्त्रवादीलाई एकताबद्ध बनाउँदै लैजाने बताए । विभाजित कम्युनिष्ट एक ठाउँमा केन्द्रित हुनु आवश्यक भएको उल्लेख गर्दै उनले समाजवादको नयाँ उद्देश्यमा पुग्नका लागि एकता आवश्यक भएको बताए । परिवर्तनको उपलब्धिको रक्षार्थ विभाजित भएर नभै एकताबद्धरुपमा अघि बढ्नु जरुरी रहेको बताउँदै उनले मोर्चा प्रतिको आस्था र विश्वास बढ्दै गएको बताए ।