राजनीति

जनताले वर्तमान सरकारप्रति ठूलो आशा गरेकाले काम गरेर जनताको मन जित्नुपर्छ : अध्यक्ष नेपाल

१५ भदौ, गण्डकी । । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताका लागि भनेर अहिलेको परिर्वतन ल्याएकाले अब काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताएका छन् ।

समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताले वर्तमान सरकारप्रति ठूलो आशा गरेकाले काम गरेर जनताको मन जित्नुपर्नेमा जोड दिए ।

उनेल अघि भने, “जनताले अहिले ठूलो आशा गरेका छन् । जनताका लागि परिर्वतन ल्याएकाले काम गरेर देखाउनु पर्ने चूनौती छ । सरकारको हात पनि बलियो बनाउने र सरकारको साथमा जनता छन्, राजनीतिक दल पनि छन् भनेर मोर्चाको अवधारणा अघि सारेका हौँ ।”

अध्यक्ष नेपालले चार दलीय मोर्चालाई सरकारसँग मात्र जोडेर हेर्न नहुने उल्लेख गरे । उनले कसैले देशको राष्ट्रियता र स्वाभिमानमा आँच पुर्‍याएमा मोर्चा चुप लागेर नबस्नेसमेत दावी गरे ।

“कसैले यो मोर्चालाई सरकारसँग मात्र जोडेका छन् । सरकारसँग मात्र जोड्ने होइन । सरकारसँग पनि जोड्ने हो, जनता र देशसँग पनि जोड्ने हो । यो मोर्चा तीन वटै क्षेत्रमा क्रियाशील हुनेछ ।” अध्यक्ष नेपालले भने ।

वर्तमान सरकारले निष्पक्ष ढङ्गबाट काम गरिरहेकाले सबैले साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिए । देशमा सुशासन कायम गर्ने सँगसँगै सरकारले देश विकासका क्षेत्रसमेतमा पहल गरिरहेको अध्यक्ष नेपालले बताए । उनले मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ताबीचमा प्रदेश तथा स्थानीयस्तरसमेतमा सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्न आग्रह गरे ।