समाचार

हेलो सरकार २४सै घण्टा सञ्चालनमा, प्रधानमन्त्रीद्वारा समुद्घाटन

१७ भदौ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको ‘हेलो सरकार’ सेवालाई दैनिक तीन सत्रमा विस्तार गरेर २४सै घण्टा सञ्चालन प्रक्रियाको शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् । समारोहमा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृत, हेलो सरकार कक्षमा कार्यरत कर्मचारी सहभागी थिए ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकामा विस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेलको नेटवर्क बाटसमेत गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एपलगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । हेलो सरकारको डेस्कले प्राप्त गुनासो तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

हेलो सरकार २४सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीन जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ । साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन पनि हुनेछ ।

गुनासोहरू सम्बोधनका निम्ति ‘¥यापिड रेस्पोन्स टिम’समेत गठन गरी कायाएन्वयनमा ल्याइएको मुख्यसचिव डा. वैकुण्ठ अर्यालले जानकारी दिए । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए वा नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

सो अवसरमा प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिइ समाधान गर्न निर्देशन दिएका छन् । उनले जनताका गुनासो जति गम्भीरतापूर्वक सम्बोधन हुन्छ, लोकतन्त्र त्यति नै बलियो हुने बताए ।

“जनताको गुनासो सुनिएन भन्ने मत पनि छ । यसलाई तीन सिफ्टको कार्यक्रमले पूर्णतः सम्बोधन गर्ने विश्वास लिएको छु । मैले हेलो सरकारको निरीक्षण गरेँ । कार्यकक्ष हेरे । त्यहाँ आएको गुनासोमध्ये दोलखाको एउटा गुनासो सुनेँ र त्यसलाई सम्बोधन गर्ने निर्देशनसमेत दिइसकेको छु”, प्रधानमन्त्रीले भने ।

“सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने अवधारणाका साथ १२ वर्ष अघि सुरू भएको हेलो सरकारलाई आजदेखि २४सै घण्टा सञ्चालन गरिँदैछ । सरकार र जनताबीचका सम्बन्ध थप सुदृढ तुल्याउँदै जनसेवा सवलीकरणका निम्ति यो सेवा बिस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु”, प्रधानमन्त्री दाहालले भने ।

सार्वजनिक निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्राप्त जनगुनासोलाई शीघ्र सम्बोधन गर्न तथा जनताको जिज्ञासा समाधान गर्ने र सुझाव लिने कार्यमा सरकार सदैव क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।

राज्यमा सुशासनको प्रवद्र्धनका लागि सार्वजनिक निकायबीच अन्तरक्रियात्मक प्लेटफर्मका लागि प्रभावकारी सञ्जाल निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वका लोकतान्त्रिक मुलुकका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवद्र्धन गरी नागरिकको विश्वास आर्जन गरेको बताए ।

आधुनिक राज्यमा खुला सरकारको अवधारणाअनुरूप सार्वजनिक निकायप्रति जनताको भरोसा दिलाउन सरकारले जनतालाई सुन्नुपर्छ भन्ने सैद्धान्तिक मान्यताका आधारमा नै नेपालका सन्दर्भमा हेलो सरकारको अवधारणा विकास गरी सुरु गरिएको प्रधानमन्त्रीले स्मरण गरे ।

“वर्तमान राज्यप्रणालीप्रति नागरिकको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आमजनताको निराशा र असन्तुष्टि चुलिँदै जानसक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवद्र्धनको कडीका रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारका विषयमा दिशानिर्देश गरेको थिएँ । यसैगरी संसद्मा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छु”, प्रधानमन्त्रीले भने ।

हेलो सरकार सञ्चालनका लागि विश्वविद्यालयसँग सम्झौता गरी इन्टर्नमा विद्यार्थी लिनसक्ने व्यवस्थासमेत गरिएको छ । नेपाल टेलिकम र एनसेलबाट गुनासो, जिज्ञासा वा सुझाव दिने र कल रेकर्डिङ प्रणालीको विकास गरिएको छ ।

हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता छ । यस संयन्त्रलाई सरकारी नीति निर्माणमा नागरिक पृष्ठपोषण हुने प्रणालीका रूपमा विकास गर्ने तयारी गरिएको जनाइएको छ ।

“सुशासनको पहिलो शर्त सरकार र जनताबीचको आत्मीय सम्बन्ध बलियो हुनु हो । जनतामा सरकार पनि छ भन्ने अनुभूति गराउन सकिएन भने हामीले जेजति सेवा प्रवाहमा सुधार गरे पनि या सुशासनका कुरा गरे पनि यसले केही अर्थ राख्दैन”, प्रधानमन्त्रीले भने, “त्यसैले म सरकारका सबै निकायलाई जनताको गुनासो व्यवस्थापनका विषयलाई पहिलो प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न निर्देशित गर्दछु । हाम्रा लागि साना तथा महत्वपूर्ण नलाग्न सक्ने गुनासो आमनागरिकका दैनिक जीवनका आयामसँग प्रत्यक्ष जोडिने गर्दछन् ।”

जनताका गुनासो तथा जिज्ञासालाई बास्केटमा राखेर कार्यालयमा स्टोरमात्र गर्ने परम्परागत संयन्त्र र कार्यशैलीले जनताप्रतिको उत्तरदायित्व बोध गराउन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले सबै संयन्त्रलाई उत्तरदायित्व बोधले तिखार्न र कार्यसम्पादन गर्नसकेमा मात्र सरकारप्रति जनविश्वास आर्जन गर्न सकिने बताए ।

हेलो सरकारसँग प्रत्यक्ष आबद्ध भई सार्वजनिक सरोकारका विषयमा आफ्ना गुनासा, जिज्ञासा कुनै पनि समयमा राख्न र नीति निर्माणका विषयमा रचनात्मक सुझाव तथा सूचना उपलब्ध गराउन तथा सञ्जाल सदस्य बन्न र अन्तरक्रिया गर्न आमजनसमुदायमा प्रधानमन्त्रीले विशेष अनुरोध गरे ।