समाचार

अघि बढ्दै ‘सहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान

१८ भदौ, काठमाडौँ । ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब रु ४२ करोड योगदान गरेको छ । प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती ९स्मार्ट लाइट० जडान गरिरहेको हो ।

यसबाट सहरको सौन्दर्य बढ्ने हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका मठमन्दिर र पर्यटकीय क्षेत्रमा विशेष किसिमका बत्ती राख्नका लागि सर्भे र डिजाइन गरिरहेको जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्यपछि विद्युत् नपुगेका ठाउँको विद्युतीकरण र सहरी सौन्दर्यलाई वृद्धि गर्न स्थानीय तहसँगको लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडान कार्यक्रम सुरु गरिएको बताए।

“घरघरमा विद्युत् बालेर मात्र नहुने रहेछ, सहरी सौन्दर्यता तथा सुरक्षाका लागि सडक पनि उज्यालो हुनु पर्ने रहेछ, त्यसैले स्थानीय तहको साझेदारीमा कार्यक्रम सुरु गरिएको हो, अहिले देशभरका स्थानीय तहबाट सडक बत्ती जडानको माग आइरहेको छ”, उनले भने, “अहिले विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित काम गरिरहेका छौँ ।” प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइट नियन्त्रण गर्न सकिन्छ ।

यसका लागि फिडर प्यानल जडान गरिएको छ । सडक बत्तीका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएका छन् । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधैँ जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था भएको प्राधिकरणको भनाइ छ । सफ्टवेरबाट विद्युत्को महसुलको बिलिङ गरिन्छ भने बत्ती बले-नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ । विद्युत्को महसुल सम्बन्धित पालिकाले तिर्नेछन् ।

ललितपुर तथा पोखरा महानगरपालिका, धनगढी उपमहानगरपालिका र कन्काई, बेलका, भीमेश्वर, भीमदत्त तथा फिदिम नगरपालिकामा सडक बत्ती जडान भइसकेको छ । साथै भरतपुर महानगरपालिका र महालक्ष्मी, बूढानीलकण्ठ, सिद्धार्थनगर तथा मन्थली नगरपालिकामा स्मार्ट सडक बत्ती जडान कार्य अन्तिम चरणमा रहेको प्राधिकरणले जानकारी दिएको छ ।

काठमाडौँसहित तीन महानगरपालिका, तीन उपमहानगरपालिका र १३ नगरपालिकासँग लागत साझेदारीमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भइसकेको छ । सडक विभाग, ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा विस्तारित चक्रपथको बालकुमारी–बल्खू सडकखण्डमा स्मार्ट सडक बत्ती जडानका लागि सम्झौता भई जडान सुरु गर्न लागिएको छ ।