राजनीति

बालुवाटार जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका तस्करलाई कारवाही गरेरै छाड्छौँ : गृहमन्त्री श्रेष्ठ

२० भदौ, चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई विश्राम नदिइ अगाडि बढाउने बताएका छन् । सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई आज माडीमा सम्बोधन गर्दै उनले यस अभियानमा सम्झौता नगरी अगाडि बढ्ने बताए ।

“यो मेरो मात्रै नभइ सरकारको पनि सङ्कल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ”, मन्त्री श्रेष्ठले भने । यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै उनले सबैप्रति आभार व्यक्त गरे । भ्रष्टाचार विरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै उहाँले भन्नुभयो, “हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौंँ ।”

‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री श्रेष्ठले यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वभाविक भए पनि सरकार भ्रष्टाचार विरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “यो सरकार भ्रष्टाचार, तस्करी, कालोबजारी, दण्डहिनता, ठगीको विरुद्धमा उभिएको छ । यस अभियानलाई निरन्तरता दिनेछौँ ।”

सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने गृहमन्त्री श्रेष्ठले दृढता व्यक्त गरे । यी काम सजिलो नभएको भन्दै उनले भने, “सजिलो बाटो होइन भनेर तै चुप मै चुप भएर यथास्थितिकै सामु लम्पसार पर्ने काम यो सरकार र गृहमन्त्रीबाट हुनसक्दैन ।” उनले भ्रष्टाचार विरोधी अभियान अझ प्रभावकारी बनाउने जनाउँदै यस्तै अन्य घटनाको खोेजी गरी छानबिन गर्ने बताए ।

देशमा ठूलो राजनीतिक परिवर्तन भएको भन्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनलाई परिवर्तनमा मात्रै सीमित नबनाएर यसलाई माध्यम र साधन बनाएर सामाजिक, आर्थिक रुपान्तरण गर्ने चाहना रहेको बताए । उनले भने, “क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा होस् वा नेपालमा लोकतन्त्र स्थापना गर्ने सन्दर्भमा होस् सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेका छन् ।”