राजनीति

जनआन्दोलनका पिडित पक्षसँग माफी नमागेसम्म म माओवादीको सदस्यता लिन सक्दिन : वामदेव

२० भाद्र, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पिडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

नेता गौतमले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर माओवादी केन्द्रमा जान नसक्ने भन्दै भने, “प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन । संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौं ।”

उनले अघि भने, “जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए । राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् ।”

नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनिए पनि नहटाएको भन्दै अघि भने, “नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को बिरुद्धमा छ । त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान बिरोधी छ, त्यो हट्नैपर्छ ।”