समाचार

प्राथमिकताका आधारमा चीन भ्रमणको कार्यसूची तयार हुँदैछ : परराष्ट्रमन्त्री

२१ भदौ, काठमाडौँ । परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न विदेश भ्रमणका कार्यसूचीहरु प्राथमिकताका आधारमा तयार भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालको आसन्न विदेश भ्रमणको कार्यसूचीबारे जानकारी गराउँदै उनले सबै मन्त्रालयबाट सुझाव आउने क्रम जारी रहेको र प्राथमिकताका आधारमा कार्यसूची तयार भइरहेको बताए ।

“चीन भ्रमणका विषयमा सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल गरिएको छ, दुईपक्षीय र बहुपक्षीय छलफल भइहरेको छ”, मन्त्री साउदले भने, “के–के विषय कार्यसूचीमा रहने र कुन–कुन विषयमा सम्झौता गर्ने भन्ने विषयमा अन्तिम भएको छैन, तयारी हुँदैछ ।”

भ्रमणका विषयमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, पूर्वपरराष्ट्रमन्त्रीसँग भेट गरी थप छलपल गर्ने तयारी रहेकोसमेत समितिलाई जानकारी गराए ।