२५ भदौ, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका(११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् ।
डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए। उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ ।
मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए। “केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात मात्रै रु दुई लाख बढीको बिक्री भएको छ”, उनले भने, “वर्षमा रु १० लाख बढीको काउली मात्रै बिक्री हुने गरेको छ ।” उत्पादित तरकारी महेन्द्रनगर बजार पुर्याएर बेच्दै आएको उनले बताए।
खड्का वडाका एक्ला व्यावसायिक तरकारीखेती गर्ने किसानका रुपमा रहेका छन् । तरकारी खेतीसम्बन्धी तालिम नलिएको जनाउँदै खड्काले अरुका बारीमा तरकारीका लागि खेत तयार गर्ने र लगाउने गरेर सिकेको बताए। त्यसरी सिकेको सीपलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।
“कुनै निकायबाट तरकारी खेतीसम्बन्धी सीप सिक्ने अवसर पाइएन”, खड्काले भने, “गर्दै जाँदा सिकिँदोरहेछ । तालिम नलिए पनि तरकारी खेतीमा अरुभन्दा कम छैन । यसैबाट जीविकोपार्जन भइरहेको छ ।”
किसान परियोजना–२ बाट एउटा सिँचाइका लागि बोरिङ र सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयबाट ५० प्रतिशत अनुदानमा एउटा खेत जोत्ने पावर टिलर सहयोग पाएको उनले जानकारी दिए। “तरकारी खेतीका लागि अन्य अनुदान पाइन्छ भन्छन् त्यो पनि पाएको छैन, आफ्नै सीप र पौरखमा तरकारी खेतीलाई अगाडि बढाउँदै आएका छौँ”, उनले भने।