अन्तर्राष्ट्रिय

लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

२९ भदौ, एजेन्सी । ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् ।

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ ।

भवन भित्र लिफ्ट जडान भइरहेका बेला त्यो एक्कासी चुडिँदा उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुरक्षा अधिकारीहरूले बताएका छन् । निर्माणस्थलमा सुरक्षाका उपाय नअपनाउँदा तथा कामदार एवं ठेकेदारले लापवाही गर्दा देशमा दैनिकजसो यस्ता दुर्घटना हुने गरेका छन् । बितेका आठ महिनामा मुम्बई महानगरमा मात्र यस्तै प्रकृतिका २४ वटा दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए । अघिल्लो वर्ष सोही अवधिमा भएका १४ वटा दुर्घटनामा १९ जनाको ज्यान गएको थियो ।