गण्डकी प्रदेश

अविरल वर्षाले भत्कियो घर, परिवार विस्थापित

५ असोज, गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।

नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो । बागलुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ ।

नाली विस्तारका लागि जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो ।

दुईतले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताए। आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पु¥याउने आश्वासन दिएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गरेका थिए । खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखामार्फत सहयोग गरिरहेको बताउँदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमताअनुसार सहयोग गर्नेगरी कार्यपालिकाको बैठकमा लैजाने बताए।

बागलुङ नगरपालिकाका इञ्जिनियर तथा विपद् शाखाका संयोजक गौरव शर्माले नगरपालिकाले नाली विस्तारका क्रममा कच्ची घरभित्र बर्खाको पानी परेका कारण घर भत्किएको बताउँदै क्षतिपूर्तिको मूल्याङ्कनअनुसार घर बनाउन सहयोग गर्ने बताए।