गण्डकी प्रदेश

श्रमदान गरेर सडक मर्मत

८ असोज, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् ।

जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको माओवादी केन्द्र मालिका गाउँ कमिटीका सचिव लालबहादुर घतानेले जानकारी दिए।

“स्थानीयवासीको आवश्यकताअनुसार विभिन्न चार वटा समूहमा विभाजन भएर सडकमा खसेको पहिरो पन्छाउने काम गरिएको हो”, उनले भने, “२० जनाभन्दा बढी नेता कार्यकर्ता, जनप्रतिनिधि र सर्वसाधारण श्रमदानमा सहभागी भने।” अदिभारा, औला, डाँडागाउँ र किटिनी खण्डमा सडक मर्मत गरिएको थियो । वर्षाका कारण भत्किएको सडक मर्मतमा श्रमदान कार्यक्रमले सहयोग पुगेको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए। विभिन्न ठाउँमा पहिरो पन्छ्याउने, पर्खाल निर्माण, नाली निर्माण र मर्मत गर्नेलगायत काम गरिएको छ ।

“वडा र पालिकाको बजेटले मात्र अवरुद्ध सडक खुलाउन सम्भावना थिएन, अहिले श्रमदान कार्यक्रमले सहज भएको छ”, वडाध्यक्ष बुढाले भने, “सडक सञ्चालन भएपछि स्थानीयवासीसँगै छिमेकी जिल्ला तमान गाउँपालिका आवतजावत गर्ने यात्रु र खाद्यान्न ढुवानीमा समेत सहज भएको छ ।”