गण्डकी प्रदेश

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड

११ असोज, गलकोट (बागलुङ) । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ । पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ ।

बिहान नौ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन् । कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आभएका दर्ता अधिकारी नारायण शर्माले बताए। स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको जनाउँदै उनले तीन महिना अघि एकसाथ तीन कर्मचारीले बोर्ड छोड्दा समस्या भएको बताए।

“स्वास्थ्य बीमाको जानकारी लिन, हराएको कार्ड बनाउन सेवाग्राही आउँछन् । कार्यालयमा जिल्लाभर छरिएका दर्ता सहयोगीले फोन गरिरहन्छन् । एक जनाले सेवाग्राहीसँग कुरा गर्ने की फोनमा दर्ता सहयोगीसँग कुरा गर्ने ? ”, शर्माले भने। उनका अनुसार बीमामा आबद्ध नागरिकको फर्म दर्ता सहयोगीबाट सङ्कलन गर्न समस्या भइरहेको छ । शर्माले बीमा गर्ने सङ्ख्यामा वृद्धि भएकाले एक्लै फर्म अपडेट गर्न समस्या भइरहेको बताए।

“सुरुमा दुई जना कर्मचारी थियौँ, बीमा कर्ता थोरै हुनुहुन्थ्यो, अहिले बीमा गर्नेको सङ्ख्या वृद्धि भइरहेको छ, दर्ता सहयागीबाट आएको फर्म सङ्कलन गर्न नै नभ्याउने अवस्था आइसक्यो, अपडेटका लागि रातिको समय व्यवस्थापन गरेको छु”, उनले भने, “यो हाम्रो मात्रै समस्या हैन गण्डकी प्रदेशभर यस्तै छ भन्ने सुनेको छु, बीमा गर्नेको सङ्ख्या बढ्ने कर्मचारी घट्ने भएको छ । तीन महिना अघि तीन जना स्वास्थ्यका कर्मचारी हुनुहुन्थ्यो, मन्त्रालयको पत्र आएपछि जानुभयो ।”

जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या ४३ प्रतिशत पुगिसकेको दर्ता अधिकारी शर्माले जानकारी दिए। उनका अनुसार जिल्लामा हाल एकलाख १० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन् ।