कर्णाली प्रदेश

दुर्घटनाको जोखिम बढेको भन्दै कर्णालीका प्रदेशसभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

१६ असोज, सुर्खेत । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले सवारी दुर्घटनाको जोखिम बढेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै उनीहरुले पछिल्लो समय सवारी दुर्घटना बढेको भन्दै प्रदेश राजधानी सुर्खेतमा सडकपेटी बिस्तारमा जोड दिए ।

प्रदेशसभा सदस्य गमता विकले दैलेखको आठबिस नगरपालिकाका एक बालकले एरीचोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाउनुपरेको र दैलेख चामुण्डाकै एक बालक उषा बालबाटिका विद्यालयमा मृत भेटिएको घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले दोषीलाई कारबाही गरी न्याय दिन माग गरे ।

प्रदेशसभा सदस्य घनश्याम भण्डारीले पनि दुई बालकको मृत्यु भएको घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । उहाँले सवारी दुर्घटना न्यूनिकरण गर्न सडकपेटीको विस्तारमा सरकारको ध्यानाकर्षण गराए । उनले भने, “कर्णाली प्रदेशको राजधानीका सडक अव्यवस्थित छन्, यी सडकका पेटी विस्तार नगरे अझै दुर्घटनाको जोखिम हुन्छ, त्यसैले सरकारले यतातर्फ ध्यान दिनुपर्छ ।”

प्रदेशसभा सदस्य सुरेश अधिकारीले प्रदेश राजधानी हुँदै सल्यान जोड्ने बालुवा सङ्ग्रही सडक निर्माणका लागि ठेक्का भएको छ वर्षसम्म पनि काम नभएको भन्दै तत्काल काम सुरु गर्न माग गरे । उनले भने, “बारम्बार सदनमा कुरा उठायो मन्त्रीले काम हुँदैछ भन्नुहुन्छ । मन्त्रीहरु त्यही बाटो भएर पनि हिँड्नुहुन्छ । ठेकेदारले काम गरे जस्तो पनि गर्छ । तर काम भने हुँदैन । म्याद भने थप भइरहेको छ । म सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । तत्काल काम सुरु गरियोस् नभए ठेक्का तोडेर नयाँ ठेक्का सम्झौता गरियोस् ।” उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कागजमा मात्रै सीमित भएको बताउँदै कार्यान्वयनमा जोड दिए ।

प्रदेशसभा सदस्य रणसिंह परियारले अविरल वर्षाका कारण हुम्लामा पहिरोलगायतका समस्या उतपन्न भएको बताए । वर्षाले धानबाली नष्ट हुनुका साथै पानीघट्ट कुलोसमेत बगाएको भन्दै उहाँले पीडितलाई उचित क्षतिपूर्तिको माग गरे ।