गण्डकी प्रदेश

चाडबाडको मुखमा बजार अनुगमन, अखाद्य वस्तु जफत

१९ असोज, गण्डकी । दसैँ, तिहारजस्ता ठूला चाडबाडको मुखमा पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको हो । बिहीबार लेखनाथ क्षेत्रका पसल अनगुमन गरिएको महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिए ।

“छ पसलबाट झण्डै रु १८ हजार मूल्य बराबरको म्याग गुज्रेका र अखाद्य वस्तु मिसाइएका सामग्री जफत गरी नष्ट गरिएको छ”, उनले भने, “कर नतिरेका, पसल नवीकरण नगरेका व्यवसायीलाई एक साताभित्र महानगरमा उपस्थित हुन भनिएको छ ।”

चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको अनुगमन अधिकृत पौडेलले बताए । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दीरूपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने उनको भनाइ छ ।

तिहारसम्मै बजार अनुगमनलाई तीव्रता दिइने महानगरले जनाएको छ । महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा बजार अनुगमन भइरहेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका प्रतिनिधि सहभागी छन् ।

“चाडबाडका बेला बजारमा उपभोक्ता ठगिने गरेको गुनासो बर्सेनि उठ्ने गरेको छ, यसको प्रभावकारी नियन्त्रण आवश्यक छ”, अनुगमन अधिकृत पौडेलले भने, “उपभोक्ता पनि सचेत हुनुपर्छ, नियामक निकाय पनि सक्रिय हुनुपर्छ ।”