गण्डकी प्रदेश

बढ्यो कोदोको माग

२० असोज, ढोरपाटन (बागलुङ) । केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटल व्यवसायी बताउँछन् ।

पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका किसानले मात्रै व्यावसायिक रुपमा उत्पादन गर्ने गरेका छन् ।

रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जङ्कफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।

पछिल्लो केही वर्षयता बागलुङ बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए। कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ थियो । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताए। बजारमा सहज रुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ थियो ।

“पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै मानिसमा अग्र्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,” अध्यक्ष राजभण्डारीले भने, “कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँबाट ल्याउँछौँ । कहिले यहीँ अग्र्यानिक सामान बेच्ने पसलबाट ल्याउँछौँ । स्थानीय उत्पादनको महत्व मान्छेहरुले बुझ्दै गएका छन् ।”

स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताउनुभयो । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको जनाउँदै अहिले माग बढेकाले खेती गर्ने क्षेत्रफल पनि बढाएको उनले बताए। बजारबाट कोदोको पीठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताए। उनले अघिल्लो वर्ष झन्डैै रू ५० हजारको कोदो बिक्री गरेको सुनाए ।