प्रदेश 1

कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका आङ्बोको दाबी

२० असोज, विराटनगर । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएपछि नेता आङ्बोले अब माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए । नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न नसकेकाले माओवादीको नेतृत्वमा सरकार बनाउनुपर्ने आङ्बोको तर्क छ ।

संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएसँगै संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि बाटो खुलेको छ ।

नेता आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । तर कांग्रेस नेतृत्वको सरकारले दुईपटक विश्वासको मत नपाएर उपधारा ३ हुँदै ५ मा पुगेको भन्दै उनले भने, ‘अब फेरि विश्वासको मत प्राप्त नगर्ने गरी सरकारको नेतृत्व दाबी गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष छ ।’