गण्डकी प्रदेश

भारतीय पर्यटकको रोजाइमा पोखरा

२१ असोज, पोखरा । पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।

फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आउनुभएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए। हिमाल तालको लोभलाग्दो दृश्यसँगै, शिव मूर्ति, पातले छाँगा, चमेरे गुफा, महेन्द्र गुफा लगायतका ठाउँहरुले आफूहरुलाई लोभ्याएको उनको भनाइ थियो ।

दोस्रोपल्ट पोखरा आउनुभएका उनले यसअघि साथीहरुसँग आएको र अहिले परिवारसहित आएको जानकारी दिए। उनसँगै पोखरा घुम्न आउनुभएकी ५५ वर्षीया सोनिया गुप्ता भने पोखराबाट मुक्तिनाथसम्म पुग्ने तयारीमा छन्। धर्मकर्ममा विशेष रुचि भएका कारण उहाँले पोखराका प्रमुख धार्मिक मठमन्दिरको पनि अवलोकन गरेको बताए। श्रीमान्का साथमा पहिलो पटक पोखरा आएकी उनले आफ्नो समूहमा ३० जना रहेकाले पोखराको सुन्दरतामा रमाएको अनुभव सुनाए ।

अर्का पर्यटक महेश मिश्राले धार्मिक यात्राका लागि दामोदर कुण्ड, मुक्तिनाथ दर्शन गर्न मन पराउने तथा प्राकृतिक सुन्दरताका कारण पोखरा रोजाइमा पर्ने गरेको र पोखराको सुन्दरता अवर्णित रहेको बताए। उनका अनुसार भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गरेपछि भारतीय पर्यटकको रोजाइमा नेपाल पर्दै गएको छ । हिन्दू धर्ममा आस्था राख्ने अधिकांश भारतीय धार्मिक पर्यटकले मुक्तिनाथ र पशुपतिमा आउन रुचि देखाउँछन् ।

गत साता मात्रै भारतको गुजरातबाट नीलकण्ठवर्णी स्मृतियात्रामा मुक्तिनाथको दर्शनका लागि करिब सात सय पर्यटक एकैचोटि पोखरा आएका थिए । उनीहरुले पोखराका विभिन्न पर्यटकीयस्थलको समेत अवलोकन गरेका थिए । पोखरा पर्यटन परिषद्का सचिव एवम् होटल रानीवन आर्केटका सञ्चालक हरि भुजेल पछिल्लो समय पोखराको पर्यटन चलायमान गराउन भारतीय पर्यटकको भूमिका महत्वपूर्ण रहेको बताउँछन्।

“अहिले पोखरा भारतीय पर्यटकको रोजाइको सहर बन्न थालेको छ, एक थरी पोखराको प्राकृतिक सुन्दरतामा रमाउनेहरु छन् भने अर्को थरी धार्मिक मठमन्दिरप्रति आकर्षित पर्यटक रहेका छन्”, उनले भने। विभिन्न पर्यटकीय सङ्घसंस्थाले पनि भारतमा ‘चलिए पोखरा’ लगायतका प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेकाले पनि भारतीय पर्यटकको सङ्ख्या बढ्न थालेको उनको भनाइ छ ।

भारतीय फिल्म छायाङ्कनमा सरकारले प्राथमिकता दिने हो भने नेपालको प्रचारप्रसार हुने र यहाँको सुन्दरताले थप पर्यटक आकर्षित गर्न सकिने उनको बुझाइ छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय यो मौसममा अहिले भारतीय पर्यटकको आगमन राम्रो भएको बताए। उनले हिमाल खुलेर पर्यटक बोलाइरहेको यो अवस्थामा अन्य विदेशी पर्यटकको सङ्ख्या न्यून रहेको अवस्थामा भारतीय र चिनियाँ पर्यटकको आगमन राम्रो रहेको बताए।

उनले आन्तरिक पर्यटकका लागि ‘जाउँ है पोखरा’ र भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ कार्यक्रम लिएर नेपाल तथा भारतका विभिन्न सहर जानका लागि पोखरा महानगरपालिकासँग सम्झौता भइसकेको जानकारी दिए। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा०गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पर्यटकीय मौसममा भारतीय पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई केही राहत प्रदान गरेको बताए। उनले भने, “यो मौसम विदेशी पर्यटकको चहलपहल हुने समय हो, तर कोभिड पछाडि विदेशी पर्यटकको आगमन बढ्न सकेको छैन, अहिले भारतीय पर्यटकसँग केही चिनियाँ पर्यटकले लेकसाइडमा चहलपहल बढाएका छन् ।”