गण्डकी प्रदेश

पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

२३ असोज, बेनी (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थालेका छन्। विद्यालयमा पढाइ नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लागेका हुन्। सुवेदीमात्रै होइन, यस विद्यालयको कक्षा १० का २५ विद्यार्थी अहिले पाठ्यपुस्तक बाहिरको सिकाइका सिलसिलामा मुढा बुन्ने सीप सिक्न थालेका छन् ।

विद्यालय र स्थानीय शुभकामना कृषि सहकारी संस्थाको साझेदारीमा विद्यालयले कक्षा १० का विद्यार्थीलाई पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिए। शुक्रबार र अन्य दिनमा दिउँसो खाजा खाने समय र विषयगत पठनपाठन नहुने समयमा विद्यार्थीलाई मुढा बुनाइको तालिम दिने गरिएको उनले बताए।

असोज १९ गतेबाट सुरु भएको विद्यार्थीको मुढा बुनाइ तालिम करिब दुई सातासम्म सञ्चालन हुनेछ । स्थानीयस्तरमा पाइने बाँसको सिन्कासमेत विद्यार्थी आफैँले तयार गरेका हुन् । विद्यालयले मुढामा प्रयोग गरिने रसीको बन्दोबस्त गरेपछि मुढा बुन्दै आउनुभएका स्थानीय नेत्रलाल गोतामेलाई प्रशिक्षक र विद्यालयकै शिक्षक गोविन्द पौडेललाई सहप्रशिक्षक तोकेर मुढा बुन्ने तालिम सञ्चालन भइरहेको छ ।

कक्षाकोठामा किताबको मात्रै पढाइ हुँदा विद्यार्थी शिक्षित बने पनि सीपविहीन बन्ने गरेकाले उनीहरूलाई हामी पनि गर्न सक्छौँ भन्ने भावना र उपयोगी सीपको विकास गराउने उद्देश्यले मुढा बुनाइ तालिम सञ्चालन भएको तालिमका सहप्रशिक्षकसमेत रहनुभएका शिक्षक गोविन्द पौडेलले जानकारी दिए। उनका अनुसार विद्यार्थीहरू मुढाका लागि आवश्यक पर्ने सिन्का तयार गर्न र सिन्कालाई फ्रेममा राखेर रसीको डोरीले मुढा बुन्न सक्ने भइसकेका छन् ।

एउटा मुढा बुन्न १४ देखि १८ इन्चका ९० देखि एक सय १० वटासम्म सिन्का प्रयोग हुने गरेको विद्यार्थी बताउँछन् । विद्यालयमा सिकेको सीपलाई घरायसी प्रयोगमा समेत उपयोग गर्ने उनीहरूको तयारी छ । मुढा बुन्ने तालिमबाट सीप सिकेका विद्यार्थीबाट फुर्सदको समयमा नियमित मुढा बुन्ने र त्यसलाई विद्यालयमार्फत बिक्री गरेर विद्यालयको बाल क्लबका लागि आम्दानी गर्ने लक्ष्यसमेत बनाएको बाल क्लबका अध्यक्ष कृति सुवेदीले बताए।

विद्यालयले यसअघि गत वर्ष कक्षा ९ का विद्यार्थीलाई च्याउखेतीसम्बन्धी तालिम प्रदान गरेको थियो । उक्त तालिम फलदायी बनेपछि कक्षा १० का विद्यार्थीलाई समेत सीपमूलक कार्यक्रमअन्तर्गत मुढा बुनाइ तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिए।

यो वर्षसमेत नगरपालिकाबाट रु एक लाख बजेट विनियोजन भएको र सो बजेटबाट विद्यालयमा कम्प्युटर मर्मत तालिम सञ्चालन गर्ने तयारी गरिएको उनले बताए। “विद्यार्थी फुर्सदको समयमा मोबाइलमात्रै चलाएर बस्ने र सीपविहीन बन्ने जोखिम बढ्दो छ, घरायसी सीप र संस्कारका कुरा पनि उनीहरूलाई सिकाउन जरुरी भइसकेको छ, हामीले पढ्दै सिक्दै कार्यक्रमलाई अभियानकै रूपमा नियमित सञ्चालन गर्ने योजना बनाएका छाँै”, वडाध्यक्ष खड्काले भने।

विद्यार्थीलाई स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजबाट खानाका परिकार बनाउने तालिम दिने तयारी गरेको विद्यालयले आगामी हिउँदयाममा छात्रा विद्यार्थीलाई लक्षित गरेर परालबाट गुन्द्री बुनाइ तालिम दिने योजना बनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा एक सय ९४ विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा रहेको बहिरा स्रोत कक्षामा १४ जनाले अध्ययन गरिरहेका छन् ।