विशेष

जुत्तामा ‘आचार्य’ राखिएकोमा आचार्य समाजको आक्रोश, क्षतिपुर्तिसहित हदैसम्मको कारबाहीको मागसहित सिआईबीमा निबेदन दिने निर्णय

२ मङ्सिर, काठमाडौँ । आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिको संयोजनमा काठमाडौँको मध्यबानेश्वरमा बसेको बैठकले आचार्य नाम गरेको जुत्ता उत्पादन गर्ने कम्पनीका विरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको छ । 

समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको अध्यक्षतामा एक पार्टी प्यालेसमा बसेको आजको बैठकले सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरूको मानमर्दन हुने गरी पत्ता लगाई तत्काल जुत्तामा राखिएको आचार्यहरूको थर हटाउन भूमिका खेल्न र थरकै अपमान हुने गरी राखिएको हुँदा कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग गर्ने निर्णय भएको छ । 

समाजका महासचिव शुभनराज आचार्य, कौडिन्य गोत्रीय महासमाजका बागमती प्रदेश अध्यक्ष एवम् आचार्य बन्धु समाज नेपालका पूर्व केन्द्रीय सदस्य प्रा डा गोविन्द आचार्य, केन्द्रीय सदस्यहरू मनोज आचार्य, एकराज आचार्य, पूर्व केन्द्रीय सदस्य राम राजा आचार्य, अधिवक्ता मुक्ति आचार्यलगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले  कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रक्रिया अपनाउने भन्दै प्रहरीले नै उक्त कम्पनीको गलत कार्यको विरुद्धका अगाडी बढ्न सक्ने हुँदा तत्कालका लागि प्रहरीमा निवेदन दिनु उपयुक्त हुने निर्णय गरेको महासचिव शुभनराज आचार्यले बताए ।  

लब्ध प्रतिष्ठित आचार्यहरूबिचमा सर्वोच्च अदालतमा क्षतीपुर्तिमागदाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्नेलगायतका विषयहरू उठेका थिए । आइतबार वा सोमबार कार्यालय समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिने र उक्त निवेदन तयार गर्न अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिने निर्णय आचार्य बन्धु समाज नेपालले गरेको छ । बैठकमा सहभागी आचार्यहरूले आक्रोशित हुँदै उक्त जुत्तामा आचार्य थरको अपमान हुने गरी नाम राखिएकोमा कम्पनीको आलोचना गरेका थिए ।  छलफलकै क्रममा आचार्यको नाममा टिसर्टसमेत प्रिन्ट गरिएको भेटिएको छ । यसअघि बुद्धको बिषयमा यस्तै प्रकारको बिबाद भएको थियो ।