शिक्षा

प्रधान सेनापति शर्माद्वारा विद्यालय भवन शिलान्यास

काठमाडौँ । सैनिक आवासीय महाविद्यालय, पोखराको उन्नाइसौं वार्षिकोत्सवको अवसरमा प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त महाविद्यालयमा बि.बि.ए. पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास गरेका छन् । नेपाली सेनाको कल्याणकारी योजना मातहत सञ्चालित उक्त महाविद्यालयमा आज आयोजित कार्यक्रमका बिच बि.बि.ए. पठनपाठनको औपचारिक थालनी समेत भएको हो । महाविद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रधान सेनापतिले उक्त महाविद्यालयको वार्षिक मुख पत्र फूलबारी विमोचन गरेका थिए । महाविद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्रधान सेनापतिले पुरस्कार वितरण गरेका थिए। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन, प्राध्यापकवर्ग, जनप्रतिनिधि, रथीवृन्द, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, महाविद्यालयका प्रिन्सिपल तथा शिक्षक लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको आजको कार्यक्रममा प्रधान सेनापतिले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरे।