समाचार

दूरसञ्चार प्राधिकरण भन्छ : शेयर खरिदबिक्रीको कागजात सङ्कलन हुँदैछ, चाँडै जानकारी दिन्छौँ’

काठमाडौँ। एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ ।अर्थ समितिको आजको बैठकमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिदबिक्रीबारे एनसेलसँग जानकारी माग गरिएकामा त्यसको जवाफ प्राप्त भएको बताए । उनका अनुसार एनसेलको शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले मङ्सिर १५ गते पत्राचार गरेकोमा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ ।

शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानुनी प्रावधानभित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जानकारी दिने तयारी रहेको बताएको छ ।

समितिमा एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद देखिएमा प्राधिकरणले थप छानबिन गर्ने पनि अध्यक्ष खनालले जानकारी दिए । प्राधिकरणको रू दुई अर्ब २५ करोड बेरुजु बक्यौताबारे पनि समितिले प्राधिकरणसँग जवाफ माग गरेको थियो । सो सन्दर्भमा विभिन्न नौ वटा दूरञ्चार सेवा प्रदायक कम्पनीबाट असुल उपर गरिनुपर्ने बक्यौता तीन महिनाभित्र बुझाउन भनिएको प्राधिकरणले जनाएको छ ।

अर्थ समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले एनसेलको व्यवस्थापनलाई अर्थसमितिमा बोलाएर जानकारी माग्नुपर्ने बताए । “एनसेल आजियटा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ), एनसेलका नेपाली मूलका साझेदारलाई समितिमा बोलाएर यस विषयमा अर्थसमितिले पत्र काटोस्”, उनले भने , “लगानी सम्मेलन गर्ने भनिरहेका बेला नेपालमा प्रत्यक्ष लगानी गरिरहेको कम्पनी बाहिरिनुले नेपालको प्रतिष्ठामा आँच पुग्ने अवस्था आएको छ ।” यस प्रकरणले नेपालमा लगानी गर्न चाहेने विदेशी लगानीकर्तामाझ नकारात्मक सन्देश जाने वाग्लेको भनाइ थियो ।

समितिका सांसदहरु दीपक खड्का, विराजभक्त श्रेष्ठ, गङ्गा कार्की, पूर्णबहादुर तामाङलगायतले एनसेल खरिदबिक्री प्रकरणबारे गम्भीर छानबिन गरिनुपर्ने धारणा राखे । यति ठूलो व्यावसायिक कारोबारबारे राज्यका निकायलाई जानकारी नहुनु लज्जास्पद र विद्यमान कानुनको उल्लङ्घन रहेकाले यसबारे राज्यका निकायले गम्भीर भएर अनुसन्धान थाल्नुपर्ने सांसदहरुको धारणा थियो ।