काठमाडौँ । किरात धर्मगुरु आत्मनन्द लिङ्देनको ७०औँ जन्मोत्सव इलामको माङसेबुङमा सम्पन्न भयो । हरेक वर्ष गुरुको जन्मोत्सव भव्य कार्यक्रमसहित सम्पन्न हुने गरेको छ । विगतमा राजादेखि राष्ट्रपतिसम्म प्रमुख अतिथिको रुपमा सहभागी हुँदै आएको गुरु जन्मोत्सवमा यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा थियो । तर, उनी सहभागी हुन सकेनन् ।
प्रधानमन्त्री युएईमा सम्पन्न कोप–२८ मा सहभागी भएर मंसिर १७ गते राती मात्र स्वदेश फर्के । व्यस्तताका कारण प्रधानमन्त्री गुरु जन्मोत्सव समारोहमा सहभागी हुन सकेनन् । प्रधानमन्त्रीको निर्देशनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती प्रमुख अतिथिको रुपमा सहभागी भए ।
गुरु जन्मोत्सवमा सहभागी हुन नसकेका प्रधानमन्त्री प्रचण्डले मन्त्री किरातीलाई खाली हात पठाएनन् । किराती प्रधानमन्त्री प्रचण्डले पठाएको उपहारसहित गुरु जन्मोत्सवमा सहभागी भए । सम्बोधनको सुरुमा मन्त्री किरातीले ‘प्रधानमन्त्रीज्यूले गुरुज्यूलाई पठाउनु भएको उपहार टक्राएर मात्र आफ्नो कुरा अघि बढाउँछु’ भन्दै प्रधानमन्त्रीको उपहार गुरु आत्मनन्दलाई हस्तान्तरण गरे ।
प्रधानमन्त्री प्रचण्डले किरात धर्मगुरु आत्मनन्दलाई एक जोर दियो कलश उपहार पठाएका थिए । मन्त्री किरातीले उपहार हस्तान्तरण गर्दै गर्दा गुरु आत्मनन्दले ‘प्रधानमन्त्रीलाई धन्यवाद भनिदिनुस् है’ भनेर सन्देश पठाए । लामो समयदेखि भव्य समारोहबिच जन्मोत्सव मनाउँदै आएका गुरु आत्मनन्दको जीवनमा यस्तो घटना पहिलो थियो । सामान्य समयमा उपहार आदान–प्रदान हुँदै आएको भए पनि प्रधानमन्त्रीबाट सार्वजनिक समारोहमै यसरी उपहार हस्तान्तरण भएको नौलो घटना नै मानियो ।
प्रधानमन्त्रीको उपहार बोकेर माङसेबुङ पुगेका पर्यटनमन्त्री पनि खाली हात फर्केनन् । कार्यक्रममा सहभागी हुन नसके पनि प्रधानमन्त्रीलाई सम्मान गर्दै मन्त्री किरातीमार्फत नै जन्मोत्सव समारोह समितिले प्रधानमन्त्रीलाई सम्मान पत्र पठायो । जन्मोत्सव सम्पन्न गरेर मन्त्री किराती काठमाडौं फर्के । काठमाडौं फर्केर मन्त्री किरातीले गुरुको तर्फबाट पठाइएको सम्मान पत्र प्रधानमन्त्रीलाई सरकारी निवास पुगेर शुक्रवार हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्रीलाई सम्मान पत्र हस्तान्तरण गरेपछि मन्त्री किरातीले फेसबुकमा तस्बिर पोस्ट गर्दै लेखेका छन्– ‘माङसेबुङबाट गुरु आत्मनन्दज्यूले पठाउनु भएको सम्मान–पत्र सम्माननीय प्रधानमन्त्रीसम्म पुर्याएको छु । साथै, सबै माग र बस्तुस्थितको रिपोर्ट पनि पेस गरेको छु ।’
आगामी जन्मोत्सवमा सहभागी हुने प्रतिबद्धता
सम्मान पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष व्यस्तताका कारण जन्मोत्सवमा सहभागी हुन नसकेको भन्दै आगामी वर्ष सहभागी हुने प्रतिबद्धता जनाएका छन् । सम्मान पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले भने– ‘गुरुको जन्मोत्सवमा सहभागी हुने चाहना थियो । सोही अनुसार समय व्यवस्थापन गर्न खोजिएको पनि थियो । तर, अति महत्त्वपूर्ण कार्यक्रमका कारण यसपटक सहभागी हुन सकिन । आगामी जन्मोत्सवमा सहभागी हुने छु । गुरुसम्म यो खबर पुगोस् है ।’
गुरु जन्मोत्सवमा प्रमुख अतिथिको रुपमा सहभागी हुन माङसेबुङ पुगेका मन्त्री किरातीसमक्ष विभिन्न माग पत्र समेत पेस गरिएको थियो । मन्त्री किरातीले उक्त माग पत्र समेत प्रधानमन्त्रीलाई बुझाएका छन् ।
माओवादी र माङसेबुङको विगत
जनयुद्धको समयमा माङसेबुङ र माओवादीबिच खासै राम्रो सम्बन्ध थिएन । तिक्ततापूर्ण सम्बन्ध थियो । तर, माओवादी शान्तिपूर्ण राजनीतिमा अवतरण गरेपछि भने माओवादी र माङसेबुङबिच सौहार्द सम्बन्ध बन्दै गएको छ ।
यसपटक गुरु जन्मोत्सवमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले गुरुलाई उपहार पठाएर सम्बन्धमा थप न्यानोपन ल्याउने कोसिस गरेको हुनसक्ने विश्लेषण हुने गरेको छ ।