मनोरञ्जन

भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन

७ पुस, भारत । भारत–नेपाल अन्तर्राष्ट्रिय काव्योत्सवमा तीन कृति विमोचन गरिएको छ । भारतको पिथौरागढमा आयोजित काव्योत्सवमा नेपालका तीन साहित्यकारका कृति विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले साहित्यकार कैलाश पाण्डेयको कविता सङ्ग्रह ‘एकलव्यको देशमा’, कवि गणेश नेपालीको कविता सङ्ग्रह ‘एकलव्य’ र गीतकार कृष्णसिंह पेलाको मुक्तक सङ्ग्रह ‘फूलको प्रहार’ विमोचन गरेका हुन् । 

रावलले कृति विमोचन गर्दै दुई देशबीच पुरानो सांस्कृतिक एवं सामाजिक सम्बन्ध रहेको बताए । “उताराखण्ड र सुदुरपश्चिमको सबै रीतिरिवाज र परम्परा एउटै हो”, उहाँले भन्नुभयो, “सांस्कृतिक एवं परम्पराले एकताको पहिचान दिलाएको छ ।” दुई देशको सिमाना फरक भए पनि सांस्कृतिक सम्बन्धले सम्बन्ध प्रगाढ बनाएको उनको भनाइ थियो ।

उत्तराखण्डका डा पीताम्बर अवस्थीले साहित्यिक कार्यक्रमले दुई देशको सम्बन्ध प्रगाढ बनाउन टेवा पुगेको बताए । “हाम्रा सांस्कृतिक परम्पराले दुई देशको सम्बन्ध थप बलियो बनाएको छ”, उनले भने, “सयौँ वर्ष पुरानो रोटीबेटीको सम्बन्ध अहिले पनि उस्तै रहेको छ ।” उनले समयसमयमा हुने यस्ता साहित्यिक कार्यक्रमले दुई देशबीच एकताको सन्देश दिएको बताएका छन् ।