समाचार

ललितपुरमा तीन दिने सद्भाव मेला

१३ पुस, ललितपुर । ललितपुर महानगरपालिका–१९ मा आजदेखि सद्भाव मेला सुरु भएको छ । वडा नं १९ ले आयोजना गरेको सद्भाव मेला तीन दिनसम्मका लागि सञ्चालन हुनेछ ।

सामाजिक सद्भावलाई बलियो बनाउनुका साथै उद्योग र पर्यटनलाई जोड दिने उद्देश्यले आयोजना गरिएको सद्भाव मेलाको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबहादुर महर्जनले उद्घाटन गरेका हुन् ।

वडा नं १९ अन्तर्गत पर्ने १३ चोकमा फरक–फरक विशेषताका साथ कार्यक्रम गर्ने वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिए । उनले भने “विशेषगरी पर्यटन र उद्योगलाई थप बलियो बनाउनका लागि मेलाको आयोजना गरेका हौँ, यसले सामाजिक सद्भावमा पनि ठूलो महत्व राख्ने छ ।”

सद्भावका लागि आयोजना गरेको मेलामा मच्छिन्द्र बहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग गरिने विभिन्न काठको प्रदर्शनी, इतिटोलमा रातो मच्छिन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याउने राजा नरेन्द्रदेव, बन्धुदत्त आचार्य र ललित ज्यापूको मूर्ति, अग्निशालमा ज्यापू सङ्ग्रहालय लगायतको प्रदर्शनसमेत गरिने वडाध्यक्ष महर्जनले जानकारी दिए ।

मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै टोलको विशेषताअनुसार ऐतिहासिक महत्व बोकेका सामग्री प्रदर्शनी, स्थानीय कला संस्कृती समेतलाई ग्राहयता दिएर मेला सम्मपन्न गरिने बताइएको छ ।