देश

विकास आयोजना समयमै सम्पन्न गर्न निर्देशन

१४ पुस, लुम्बिनी । बुटवल उपमहानगरपालिकाले चालु आर्थिक वर्षका विकास निर्माणका आयोजना समयमै सम्पन्न गर्नका लागि सबै तहबाट काम अगाडि बढाउन मातहतका निकायलाई निर्देशन गरेको छ ।

उपमहानगरपालिकाको शुक्रबार सम्पन्न १४औँ नगरसभा अधिवेशनले अर्धवार्षिक समीक्षा गर्दै आगामी आर्थिक वर्षका लागि बुटवलका आवश्यकता र प्राथमिकता निर्धारण गर्दै सोही अनुसार नीति तथा कार्यक्रम पारित गरेको छ । नगरसभाले उपमहानगरका लागि दुई विधेयक पारित र दुई ऐन संशोधन गर्ने निर्णय गरेको नगरप्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

नगरसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रस्तुत भएका जलस्रोत उपयोग विधेयक, २०८० र छाडा पशु चौपाया व्यवस्थापन र नियन्त्रण (गौशाला सञ्चालन) विधेयक, २०८० छलफलपछि सर्वसम्मतिले पारित गरेको नगरप्रमुख पाण्डेयले बताए ।

सभाले नगरशिक्षा ऐन, २०७४ र नगरस्वास्थ्य ऐन, २०७५ संशोधन गरेको छ भने आवश्यकता अनुसार सङ्गठन संरचना र कर्मचारी दरबन्दीसम्बन्धी प्रस्ताव पारित गरेको प्रमुख पाण्डेले जानकारी दिए ।

सभाले सहरी पूर्वाधारतर्फ कामको चाप बढ्दै गएकाले सहरी पूर्वाधार विकास महाशाखा र भवन निर्माण तथा डिजाइन महाशाखा बनाइएको छ भने छुट्टै अनुगमन महाशाखा बनाउने प्रस्ताव पारित गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ११ र १३ मा जनसङ्ख्या र भूगोललाई मध्यनजर गरी जनशक्ति थप गर्नेगरी पेस भएको प्रस्ताव सभाले पास गरेको छ ।

नगरसभाको समापन अवसरमा प्रमुख पाण्डेयले बुटवल र बुटवलवासीको भविष्य उज्ज्वल बनाउन सबै जनप्रतिनिधि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुनेका लागि सबै खर्च निःशुल्क गराउन नगरप्रमुख आमासुरक्षा कार्यक्रम सञ्चालनको तयारीमा रहेको बताउँदै प्रमुख पाण्डेयले नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही रु दुई हजारका दरले प्रदान गर्नेगरी स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रम सञ्चालनमा रहेको बताए ।

बैठकमा प्रमुख पाण्डेयले १८ वर्षमुनिका एचआइभी सङ्क्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु तीन हजार उपलब्ध गराउने, स्तनपान गराउने आमाका लागि दुग्धवद्र्धक जडीबुटी उपलब्ध गराउने र नगरवासीलाई जटिल रोगको उपचारमा जनही रु १७ हजार राहत अनुदान उपलब्ध गराउने कार्यक्रम निरन्तर रहेको बताए ।

गृहिणीलाई स्वरोजगार बनाउँदै उत्पादन तथा बिक्रीसँग जोड्न नगरप्रमुख गृहिणी रोजगार कार्यक्रम सञ्चालन भएको, युवा इलम र महिला उद्यमशीलता कार्यक्रम सञ्चालन भएको बताउँदै नगरप्रमुख पाण्डेयले यसले महिला र युवालाई सीप र रोजगारसँग जोड्ने जानकारी दिए ।